काठमाडौँ – नेकपा एमाले फुट्ने पक्का जस्तै भएको छ । माधव नेपाल पक्षले ९ औँ महाधिवेशनबाट निर्वाचितसहित निर्वाचन आयोगमा दर्ता रहेका सदस्यमध्ये ३५ प्रतिशतको हस्ताक्षर संकलन समेत गरिसकेको बुझिएको छ । करिब ३० जन सांसद्को सूचि समेत बनाएर नेपाल पक्षले ‘समाजवादी पार्टी’ नामको समेत तयारी गरेर दर्ताको तयारी गरिरहेको छ ।


ADVERTISEMENT


स्रोतकाअनुसार नेपाल पक्षसँग ४० प्रतिशत केन्द्रिय सदस्य छन् । नेपाल र बामदेव गौतमले दल फुटाउने तयारी गरेर त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन अनुरोध गरेको बुझिएको छ । राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरिएकोमा केन्द्रिय कार्यसमिति र संसदीय दलमा दुई मध्ये एकमा ४० प्रतिशत पुगे हुने व्यवस्था गरिएको छ ।
अध्यादेशका लागि प्रतिनिधि सभा अधिवेशनको अन्त्यको सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग सदर पनि गराइसकेको स्रोतले बताएको छ । नेपालसँग झलनाथ खनाल र बामदेव गौतम पनि एमाले फुटाउन सक्रिय देखिएका छन् । गौतम दल विभाजनका लागि नेपालसँग सक्रिय भएर सहयोगी भूमिकामा देखिएका छन् भने भारतस्थित नयाँ दिल्लीमा उपचाररत झलनाथ खनालले आफूलाई भेट्न पुगेका सुरेन्द्र पाण्डे र भीम आचार्यलाई ओलीसँग मिलेर अघि नबढ्ने जवाफ दिएका हुन् ।


ADVERTISEMENT

# # #


नेपाल पक्षले आफूसँग ४० प्रतिशत केन्द्रिय सदस्य रहेको दावी गरेपनि यसअघि नेपाललाई साथ दिएका नेताहरुले नै नेपाललाई साथ नदिने संकेत देखिएको छ । यसअघिदेखि नेपाल पक्षमा देखिएका भीम रावल, गोकर्ण बिष्ट र योगेश भट्टराईले भने नेपाललाई साथ नदिने देखिएको स्रोतले बताएको छ । यसैगरी घनश्याम भुषाल, भीम आचार्य र गोकर्ण बिष्टले पनि ओलीसँग मिलेर एकताका लागि अघि बढ्नुपर्ने बताइराखेका छन् । नेपाल पक्षका यज्ञराज सुनुवार, झपट रावल , डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, राजबहादुर बुढालगायतका सांसद्ले पनि नेपालको साथ छाडेर ओली पक्षतिर जाने संकेत देखिएको छ ।

यसैगरी ओली निकट नेताहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेनले ओलीलाई छाडेर नेपाललाई साथ दिँदै देउवालाई विश्वासको मत दिएका थिए । अहिले फेरि उनीहरु नेपाल पक्षको साथ छाडेर ओलीसँगै उभिएका छन् ।

नेपालले आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रिय सदस्य भएको दावी गरिरहँदा नेपाललाई साथ दिएका नेता तथा सांसद् समेतले अहिले उनलाई साथ नदिएको संकेत देखिएको छ भने को को नेपाल पक्षमा जाने भन्ने स्पष्ट भइसकेको छैन ।