दुनै, डोल्पा – डोल्पामा तोकिएका जम्मा ६६ मतदान केन्द्रमध्ये २२ वटा सुरक्षा चुनौतीको हिसाबमा संवेदनशील सूचीमा राखिएका छन् । निर्वाचन कार्यालय डोल्पाका अनुसार संवेदनशील सूचीमा राखिएको २२ वटै मतदान केन्द्र उपल्लो डोल्पाका हुन् ।


ADVERTISEMENT


सुरक्षा तथा सञ्चार व्यवस्थापनको हिसाबमा माथिल्लो भेगमा पर्ने मतदान केन्द्र अन्य मतदान केन्द्रको तुलनामा थप संवेदनशील भएको कार्यालयको भनाइ छ ।


ADVERTISEMENT

# # #


डोल्पामा आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान केन्द्र तोक्ने काम सम्पन्न भएको छ । डोल्पा भौगोलिक रुपमा विकट भएकाले भूगोललाई आधार मानेर प्रत्येक वडामा एउटा मतदान केन्द्र पारिएको छ ।

प्रदेश र प्रतिनिधि सभाको चुनावमा डोल्पाबाट १८ हजार ९८९ जनाले मतदान गर्ने जिल्ला निर्वाचन कायालयले जानकारी दिएको छ । महिला मतदाता नौ हजार ६३९ र पुरुष मतदाता नौ हजार ३५० रहेका छन् ।

प्रहरीको भरमा निर्वाचन सूचना

उपल्लो डोल्पा वर्षौंदेखि सञ्चारविहीन छ । यहाँका छार्काताङसोङ्, डोल्पो बुद्ध, से–फोक्सुन्डो लगायतका स्थानीय तहमा कुनै पनि प्रकारको सञ्चार सुविधा नहुँदा वषौँदेखि सञ्चारविहीन भएका हुन् ।

त्यसो त उपल्लो डोल्पामा भइरहेको विभिन्न गतिविधिको सूचना स्रोत प्रहरी नै रहँदै आएको छ । उपल्लो डोल्पामा हुने विभिन्न घटनाको संवाहक प्रहरी नै प्रमुख हो । अघिल्ला चुनावहरुमा जस्तै यस पटक पनि निर्वाचनसम्बन्धी सम्पूर्ण सूचना लिने माध्यम भनेकै प्रहरी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । “उपल्लो डोल्पासम्म पुग्न सदरमुकामदेखि हप्तौँ लाग्छ, भौगोलिक रुपमा विकट भएकाले पनि हत्पत सूचना पाउन नसक्ने अवस्था छ,” जिल्ला निर्वाचन अधिकृत विक्रम गिरीले भने – “प्रहरीको सेटबाहेक अरू कुनै सञ्चारका साधनले काम नगर्ने भएकाले निर्वाचनमा खटिएका कर्मचारीले सूचना प्रहरीलाई दिने र प्रहरीले जिल्लामा खबर गर्ने गर्दछ ।”

निर्वाचन सूचनाको जानकारी लिन निर्वाचन आयोगले यस पटक पनि कुनै पनि सञ्चार सुविधाको व्यवस्था नगरेकाले प्रहरीकै भर पर्नुपर्ने अवस्था रहेको कार्यालयको भनाइ छ ।

हिमपातले चुनावी गतिविधि प्रभावित

कात्तिक महिनाको शुरुवातसँगै डोल्पाका उच्च भेगमा हिमपात हुने गर्दछ । यस वर्ष पनि उपल्लो डोल्पामा कात्तिक पहिलो साताभित्रै भारी हिमपात भएपछि निर्वाचन गतिविधिसमेत प्रभावित भएको छ ।

अघिल्ला वर्षमा जस्तै यस पटक पनि कात्तिक लागेसँगै हिमपात शुरु भएपछि निर्वाचन गतिविधि प्रभावित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हिमपातपछि बढेको चिसोले गर्दा मतदाता शिक्षाका लागि हिँड्नै लागेका कर्मचारीसमेत रोकिएको कार्यालयले जनाएको छ । अब तीन–चार दिनभित्रै निर्वाचन शिक्षाका सामग्रीसहित कर्मचारी उपल्लो क्षेत्र पठाइने बताइएको छ । उपल्लो डोल्पामा दिन प्रतिदिन जाडो बढ्दै जान थालेपछि दलहरुले चुनावी गतिविधिलाई तीव्रता दिन सकेका छैनन् ।रामचन्द्र न्यौपाने रासस