काठमाडौँ – मनोज पण्डित निर्देशित चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ । कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भाइ नेट तथा ओहो मूभिजबाट प्रदर्शनमा आउने निर्माण समूहले जनाएको छ ।


ADVERTISEMENT


आज कृष्ण जन्माष्टमीको शुभमुर्हुतमा सार्वजनिक ट्रेलरमा राजनीतिमार्फत देश टुक्राउन लागि परेका विरुद्धको कथा प्रस्तुत गरिएको देख्न सकिन्छ । २ मिनेट ११ सेकेन्ड लामो ट्रेलरको शुरुदेखि अन्त्यसम्म नै राष्ट्रिय सुरक्षा तथा अखण्डतालाई प्रस्तुत गरिएकोमा चलचित्रले राष्ट्रिय एकतालाई मुख्य मुद्दाका रुपमा उठाएको देखिन्छ । आम नागरिक एक हुनुपर्छ भन्ने भावना प्रस्तुत भएको देखिने ट्रेलर हेर्दा चलचित्र राजनीतिक विषयवस्तु समेटेर तयार पारिएको प्रष्ट हुन्छ । आफ्ना अधिकारका नाममा देश विभाजन गर्ने विरुद्ध बलियो हस्तक्षेप कथाले गरेको देखिन्छ ।


ADVERTISEMENT

# # #


नेपाललाई विदेशी चलखेल र हस्तक्षेपबाट राष्ट्रिय सन्देश चलचित्रले दिन खोजेको छ । नेपाल वैदेशिक चलखेलको ‘प्ले ग्राउण्ड’ भएको तीतो यथार्थतालाई उजागर गर्ने उद्देश्यका साथ त्यस्ता षड्यन्त्रहरूबाट नेपाललाई जोगाउन विशेष गुप्तचर निकायको स्थापना जतिसक्दो चाँडो गर्नुपर्छ भन्ने तथ्यलाई स्थापित गर्न यो चलचित्रले सीसीआईका रुपमा एउटा त्यस्तो इन्टिलिजेन्ट निकायको परिकल्पना गरेको छ ।

चलचित्र यही गुप्तचर संस्थाको एक इमान्दार एजेन्टको संघर्षमा आधारित छ। ‘स्पाइ जनर’को चलचित्रमा उक्त एजेन्टको भूमिका विशाल पोखरेलले निभाएका छन् भने उनको सहयोगी एजेन्टको भूमिका ज्योत्सना योगीले गरेकी छन् ।

विदेशी स्वार्थको इशारामा देशमा विखण्डनको हिंसात्मक अभियान चल्नु, नेपालको आन्तरिक सुरक्षाका लागि अत्यन्त चुनौतीपूर्ण विषय हो। मधेस विकास र शान्तिको पक्षमा अगाडी बढ्ने प्रक्रियामा रहँदा यसलाई विथोल्न स्वतन्त्र मधेसको अवधारणा स्थापित गरेर नेपाललाई सधै अस्थिर राखिराख्ने षड्यन्त्रको शिकार नेपाल भएको यथार्थलाई सिनेम्याटिक चुनौती चलचित्र ‘एक’ले लिएको छ। अत्यन्त संवेदनशील राष्ट्रिय मुद्दालाई चलचित्रमा प्रतिनिधित्व गर्नु आफैमा चुनौतीपूर्ण हो। र उक्त स्वतन्त्र मधेसको नारा बोक्ने पात्रको भूमिका निभाउन कलाकार प्रमोद अग्रहरिलाई धेरै नै चुनौतीपूर्ण रहेको छ।

समग्रमा राष्ट्रप्रेमले ओतप्रेत कथा चलचित्रमा प्रस्तुत भएको हुनाले देशलाई माया गर्ने हरेक नागरिकले चलचित्रलाई मन पराउने विश्वास गर्न सकिन्छ । राजनीतिको माध्यमबाट भित्रभित्रै के कस्ता षड्यन्त्र हुन्छन् ? विदेशी शक्तिले कसरी देशको राजनीतिमा हस्तक्षेप गर्छ ? यस्ता प्रश्नको धेरथोर जवाफ पनि चलचित्रले दिने अपेक्षा गर्न सकिन्छ । जसकारण फरक विषयवस्तुलाई सशक्त रुपमा अघि सारिएकाले कोरोनाका कारण सिनेमा हलहरु बन्द भएको अवस्थामा पनि डिजिटल प्लेटफर्ममा समेत चलचित्रले निशर्त राम्रो प्रभाव जमाउने देखिन्छ । ट्रेलरले उठाएको मुद्दा बलियो हुनुका साथै मुलुकको राजनीति, राष्ट्रीय भावना, राष्ट्रीय अखण्डता, मधेश बुझ्ने हुट्हुटी आदि कारण ट्रेलरले व्यग्रताका साथ दर्शकलाई चलचित्र रिलिज मितिसम्म कुराउने पक्का छ ।

‘मधेश नेपालको अंग हो’ बाट शुरु भएको ट्रेलरले मधेशका मुद्दालाई गम्भीरताका साथ उठाएको देखिन्छ नै । तथापि, ‘नयाँ संविधान बनाउनेछौँ, जुन मधेशको हुनेछ, स्वतन्त्र मधेश’ जस्ता संवादहरु चलचित्रमा देखिएकोमा उक्त संवादको काउन्टरमा देखिने ‘अब यो देश मैले बचाउनुपर्छ, नेपाललाई सिक्किम जसरी भारतमा विलय गराउन लागि परेको छ,’ जस्ता संवादहरु हिरोइजमका रुपमा आएको ट्रेलरमा देखिन्छ ।

मधेशले उठाएका मुद्दा गलत मात्रै हुन् त ? देश टुक्राउन मधेशले मात्रै भूमिका खेलिरहेको हो त ? मधेशका नेताहरुले उठाएका मुद्दा राष्ट्रिय हितमा छैनन् ? मधेशले देश टुक्राउँछ भन्ने काठमाडौँको भाष्यलाई नै चलचित्रले स्थापित त गर्दैन ? यस्ता प्रश्नहरु स्वभाविक रुपमा निर्देशक पण्डितमाथि तेर्सिने देखिन्छन् नै । तथापि, ‘बधशाला’, ‘दासढुङ्गा’, ‘खाग’, ‘छायाँ’जस्ता चलचित्र निर्माण गरेका तथा ‘ग्रेटर नेपाल’ डकुमेन्ट्री बनाएका पण्डितको चतुर्याइँ ट्रेलर हेर्दा मात्रै भने यस्तो होला भन्न सकिन्न । चलचित्रमा कुनै पनि पक्ष र विपक्षमा नउभिएर कथालाई सशक्त रुपमा प्रस्तुत गर्ने खुबी भएका पण्डितको नयाँ चलाखी थाहा पाउन चलचित्रको रिलिज नै पर्खिनु पर्ने देखिन्छ । समग्रमा ट्रेलर हेर्दा अन्य चलचित्र जस्तै पण्डितको यो चलचित्रले चलचित्र उद्योगमा बलियो हस्तक्षेप गर्ने देखिन्छ ।

स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको यो चलचित्रको निर्माण आत्मा गुरागाईं र सोफिया थापाले गरेका हुन् । छायांकन दीपक बज्राचार्य, सम्पादन भरत रेग्मी तथा संगीत गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको रहेको छ। त्यस्तै एक्सनमा प्रमोद खड्काले आफ्नो दक्षता देखाउने प्रयत्न गरेका छन् ।

चलचित्रमा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेललगायतका कलाकारहरूले ‘स्पाइ ड्रामा’मा अभिनय रहेको छ ।

के भन्छन् चलचित्रबारे निर्देशक पण्डित

विदेशी शक्ति केन्द्रहरूको स्वार्थका लागि नेपाल ‘प्ले ग्राउन्ड’ बनेको तथ्यलाई कसैले नकार्न मिल्दैन। यसैका कारण नेपालको राजनीति सधै अस्थिर नै भइरह्यो। र त्यसको परिणाम नेपाली जनताले भोग्न बाध्य भइरहनुपरेको छ। हस्तक्षेपको अनेकन स्वरूवहरू देखेर हुर्केको हुँदा म भित्र आफ्नो देश जोगाउनुपर्छ भन्ने बिचार र भावना अत्यन्त क्रियाशील छ। यसैको परिणाम हो चलचित्र ‘एक’।

ग्रेटर नेपाल वृत्तचित्र बनाउँदा भारतसँग ‘सिमाना जोडिएका तराईका भूगोल छिचोल्दै गर्दा मैले स्वतन्त्र मधेसको राजनैतिक बिचार बोकेका केही युवासँग भेट्ने मौका पाएको थिए। र उनीहरूको त्यो विखण्डनकारी सोचेको पृष्ठभूमि बुझ्ने मौका पनि पाएको थिएँ। जो मेरे सोचको ठ्याक्कै विपरीत थियो। पछिल्लो चरणमा त्यो विखण्डनको सोच बढ्दै जाँदा म भित्र यस्तो चिन्ता बढ्नु स्वभाविकै थियो। र यसमा विदेशी शक्तिको आफ्नो स्वार्थ जोडिनुले झनै चिन्ता बढाइदिएको थियो।
एउटा सामान्य नागरिक भएको हिसावले हाम्रो देश विदेशी स्वार्थहरूको क्रिडास्थल बनिरहँदा त्यसका विरुद्ध धेरै ठूलो प्रतिक्रिया दिन नसके पनि आफ्नो सृजनशीलताका माध्यममार्फत त्यो परिस्थितिलाई चुनौती दिने कथामा आधारित चित्रकथा भन्छु भन्ने निर्णय मैले गरेँ।

र, यही उत्प्रेरणामा ‘सि।एस। आई’ नामक एउटा त्यस्तो काल्पनिक गुप्तचर संस्थाको परिकल्पना गरेँ। जसले देशका विरूद्ध हुने सम्पूर्ण विदेशी षड्यन्त्रहरूलाई निस्तेज पार्नेछ। अनि त्यही संस्थाको जिम्मेवार र इमान्दार एजेन्टको मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित भएर चलचित्र ‘एक’ जन्मियो।

हेर्नुहोस् ट्रेलर: