बाजुरा– बाजुराको साबिकको बाँधु, रुविन र बिच्छ्या गाविस मिलाएर हिमाली गाउँपालिका बनाउन स्थानीय सहमति गरिएको थियो । गाउँपालिका बनाउने सहमतिसँगै गाउँमै गएर प्राविधिक समितिले केन्द्रको टुङ्गो लगाएको थियो ।


ADVERTISEMENT


साबिक तीन गाविसबीचको स्थान धुलाचौर केन्द्र बनाउने सहमतिसहित आयोगमा नामसहित प्रस्ताव गरियो । तर आयोगको सिफारिसअनुसार राजपत्रमा प्रस्ताव गरिएको स्थानमा नपरेको भन्दै स्थानीयबासीले विरोध जनाएका छन् ।


ADVERTISEMENT

# # #


राज्यको पुरानो संरचना नै भएको स्थानमा केन्द्र बनाउनुपर्ने दाबीसहित बाँधु गाविस कार्यालय रहेको स्थानमा केन्द्र राख्न भनिएको छ । सरकारको निर्णयले बिच्छ्या र रुगिनका जनताका लागि विकेन्द्रीकरणले न्याय नभई अन्याय थपिएको स्थानीयको भनाई छ ।

बिच्छ्याबाट बाँधु पुग्न एकदेखि दुई दिनसम्म लाग्छ । भौगोलिक सीमा र अवस्थालाई ख्यालै नगरिएको बिच्छ्यावासीको आक्रोश छ । गाउँमा सेवा दिने भनेर सङ्घीय संरचना निर्माण गरियो । हाम्रा लागि न्याय होइन अन्याय भयो, बिच्छ्याका धर्मलाल सुनारले बताए ।

जिल्लामा नौवटा स्थानीय तह निर्माण भएका छन् । तीमध्ये पाँचवटा स्थानीय तहका केन्द्र प्रस्ताव गरिएअनुसार छैनन । जसले स्थानीयबीच गाउँमै आपसी विवाद बढेको छ । सर्वपक्षीय सहमतिमा एक निर्णय गरेर पठाइयो, माथिबाट अर्कै निर्णय भएर आयो, जनतालाई झगडाउने काम भयो, साविक दहकोट गाविसका देवबहादुर रोकायाले बताए ।

साबिक दहकोट, मानाकोट र बडिमालिका नगरपालिका–१ मिलाएर बनाइएको गौमुल गाउँपालिकाको केन्द्र पनि मानाकोट राख्न भनिएको छ । घटमुनाको प्रस्ताव गरिएको थियो, माथिबाट अलग निर्णय आएपछि कुन स्थानमा कार्यालय राख्ने अन्यौल भएको रोकायाले बताए ।

ब्रह्मतोला, बाह्विस र कुल्देवमाडौँ गाविसको केन्द्र फालासैन प्रस्ताव गरिएकामा टाँटे सारेदेउ भएर आएपछि विवाद उत्पन्न भएको छ । एक पक्षले सरकारले पठाएको परिपत्रअनुसार नै कार्यालय हुनुपर्ने भन्दै कार्यालय स्थापना गरिसकेका छन् भने अन्य स्थानीय आन्दोलित बनेका छन् । बाह्रविस र ब्रह्मतोलाका स्थानीयवासीले कुल्देवमाडौँको पुरानै गाविस भवनमा कार्यालय आफूहरुका लागि अस्वीकार्य भएको दाबी गरेका छन् ।

मङ्गलबार निमित्त कार्यकारी अधिकृत लिएर केही व्यक्तिले सारेदेउमा कार्यालय स्थापना गरिसकेका छन् । फालासैनमै केन्द्र राखिनुपर्ने माग गर्ने पक्ष भने कार्यालयमा तालाबन्दी गर्ने र कामकाज सञ्चालन हुन नदिने चेतावनीसहित आन्दोलित बनेको छ । सर्वपक्षीय सहमतिअनुसार नै काम हुनुपर्ने मागसहित आन्दोलन सुरु गरेको डम्मर थापाले बताए ।

त्यस्तै, जगन्नाथ र गोत्री गाविस मिलेर बनेको पाण्डव गुफा गाउँपालिकाको केन्द्र जुड्डी प्रस्ताव गरिएपनि जगन्नाथ गाविस कार्यालय केन्द्र तोकिएर आएको छ । हाल जगन्नाथमै कार्यालय स्थापना भएको छ, बहुमतले निर्णय गरेर पछि जुड्डीमै सार्ने तयारी भएको बताइएको छ । वाई, जुकोट र साप्पाटाको केन्द्र सुइजिउला प्रस्ताव गरिएको वाई भएर आएको छ जहाँ पुग्न साप्पाटाबाट एक दिनको पैदल दूरी पर्छ ।

स्थानीयवासीले सरकारले गाउँ तथा नगरपालिकाको केन्द्र तोक्ने विषयमा जनभावनालाई समेट्न नसकेकोप्रति स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाबाट प्रस्तावित निर्णयको बेवास्ता गर्दै पुरानै इलाका र गाविस कार्यालयलाई केन्द्र तोकिएको प्रति स्थानीयवासीले विरोध जनाएका हुन् ।

राज्यले गर्ने निर्णय जनताको भावना सम्बोधन हुने गरी गर्नुपर्नेमा प्रस्तावित निर्णयलाई समेत उल्टाएर पठाएको स्थानीयवासीको आरोप छ । सर्वपक्षीय सहमतिबाट जिल्लास्तरबाट गरिएको प्रस्तावलाई बेवास्ता गर्दै मनोमानीरुपमा जनभावना विपरीत भौगोलिक दूरीको आङ्कलन नगरी केन्द्र तोकेर पठाएको प्रति स्थानीयवासीले निर्णय सच्याउन मागसहित जिल्ला समन्वय समितिलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

राजपत्रमा नै उल्लेख भइसकेकाले त्यो निर्णय सच्याउन समस्या हुने जिल्ला समन्वय समितिले प्रतिक्रिया दिने गरेको छ । सरकारले गरेको निर्णयमा समन्वय समितिले बोल्न नमिल्ने समन्वय समिति बाजुराका सूचना अधिकारी प्रेमबहादुर सिंहले बताए ।

केन्द्रका विषयमा बढेको विवाद थपिँदै गएको छ । दलका नेताहरुले समेत जिल्ला समन्वय समितिका कर्मचारीलाई आफू अनुकूल गर्न दबाब दिने गरेको एक स्रोतको दाबी छ ।रासस