राक्सिराङ– चेपाङ समुदायले मंगलबार राती आफ्नो सबैभन्दा ठुलो पर्व छोनाम (न्वागी) मनाएको छ ।


ADVERTISEMENT


विगतमा आ–आफ्नो घरमा मात्रै मनाउँदै आएपनि यसपटक नेपाल चेपाङ संघको आयोजनामा यी जातिले राक्सिराङको चैनपुरस्थित सो पर्व पहिलो पटक सामूहिक रुपमा मनाएका हुन् । पर्वको सो अवसरमा चेपाङ बस्तीमा सार्वजनिक बिदाको घोषणा समेत गरिएको थियो ।


ADVERTISEMENT

# # #


प्रत्येक वर्ष भदौ २२ मा पर्ने सो न्वागी पर्वको महोत्सवमा प्रदेशसभा सदस्य एवम् प्रमुख अतिथी इन्द्रबहादुर बानियाँले चेपाङ समुदायको ढ्यांग्रो ठोकेर शुभारम्भ गरेका थिए भने, अगुवा गायक रविन चेपाङले चेपाङ भाषाको गीतबाट स्वागत गरे ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजाआज नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । जसकारण यी जातिले यसदिन न्वागी पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गर्छन् । छोनाम (न्वागी) का दिन एकपाखे ढ्यांग्रो ठोकेर झाँक्रीहरूले मन्त्रोच्चारण गर्छन् । झाँक्रीलाई चेपाङहरू पान्दे भन्छन् । ती पान्दे पनि चेपाङ नै हुने गर्छन् । पान्देले पूजाआज गरेपछि सहभागी चेपाङहरूलाई नयाँ फलफूल र खाद्यान्न दिन्छन् ।

छोनामका दिन यसरी ढ्यांग्रो ठोकिएन र मन्त्रोच्चारण गरिएन भने पितृ र देवता रिसाउँछन् भन्ने यस जनविश्वास रहेको सोमदास चेपाङले जानकारी दिए । उनले भने, ‘यसरी विधि पुर्‍याएपछि मात्र नयाँ अन्न र फलफूल खाने बाटो खुल्छ । विधि नपुर्‍याईकन आफ्नो खुसीमा नयाँ अन्न खाएमा पितृ र देवताले दुःख दिन्छन् ।’

उनका अनुसार, वर्ष दिनमा कम्तीमा नौ महिना जंगली कन्दमूल खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले यो पर्वमा मिठो–मसिनो खाएर मुख फेर्छन् । उनीहरूले पाखापखेरामा लगाएको मकैलगायत फलफूल भदौमा पाक्ने कारणले यही बेला छोनाम (न्वागी) मनाउने गरेका हुन् । चेपाङहरू नयाँ अन्न खाने दिनलाई छोनाम भन्छन् । यो पर्वसँग चेपाङ जातिको जीवनशैली र संस्कृति जोडिएको छ ।

कार्यक्रममा पूर्वसभासद गोविन्द चेपाङ, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, क्षेत्रिय सभापति लोक मोक्तानलगायत मकवानपुर, चितवन र धादिङका अगुवा चेपाङहरूको समेत सहभागिता थियो ।

२०६८ सालको जनगणनाअनुसार मुलुकमा चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ । मकवानपुरमा ९ हजार ७ सय ७८ पुरुष र ९ हजार ३ सय ७४ महिलासहित १९ हजार १ सय ५२ जना चेपाङको बसोबास रहेको तथ्यांकले देखाएको छ ।