काठमाडौँ– यू–१९ एसिया कपको तयारीका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले तेस्रो अभ्यास खेलमा जित निकालेको छ । नेपालले आज भएको खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको हो।


ADVERTISEMENT


ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली बंगलादेशले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४६.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।


ADVERTISEMENT

# # #


नेपालको जितका लागि ओपनरद्वय मोहम्मद आसिफ शेख र जितेन्द्र सिंहले पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरे । ३२.१ ओभर खेलेका उनीहरुले १२ चौका र ४ छक्का प्रहार गरे । आसिफले ९० रन बनाए । उनले ८८ बल खेल्दा ९ चौका र ३ छक्का प्रहार गरे । पहिलो पटक यू–१९ टिममा परेका जितेन्द्रले ४५ रन बटुले । सम्हालिएर ब्याटिङ गरेका उनले १ सय ९ बलको सामना गर्दा ३ चौका र १ छक्का प्रहार गर्न सफल भए।

त्यस्तै अनिलकुमार साह १५ रनमा आउट भए । उनले आउट हुनुअघि १६ बल खेलेर २ छक्का हिर्काए । रोहितकुमार पौडेल २५ रनमा आउट भए । उनले २२ बल खेलेर ३ चौका प्रहार गरेका थिए । यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट २७ रन र ‍भीम सार्कीले नटआउट १३ रन बटुले । दीपेन्द्रले ३६ बलमा ३ चौका र भीमले १० बलमा १ चौका र १ छक्का हिर्काए।

बलिङतर्फ बंगलादेशका काजी इस्लाम, रोनी हुसेन, शिखावत हुसेन र सइफ हसनले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर पूरै खेलेर ७ विकेटको क्षतिमा २ सय २५ रन जोड्यो । बंगलादेशका लागि मध्यक्रमका ब्याट्सम्यान अनिमुल इस्लामले नटआउट ८० रनको योगदान गरे । इस्लामले ८७ बल खेलेर ८ चौका प्रहार गरे । अर्का ओपनर सोजिम हुसेन ६ रन बनाएर खेलिरहँदा नेपालका अनिल साहको एलबिडब्लुको धरापमा परेका थिए।

कप्तान सइफ हसनले १७ रन बटुले । नेपालका कप्तान दीपेन्द्रसिंहबाट रनआउटको सिकार हुनुअघि सइफले ३७ बलको सामना गरेर १ चौका हिर्काए । पिनाक घोषले २३ रन बटुले । मोहम्मद राखिबले ३९ रन बनाउने क्रममा ३६ बलमा ६ चौका र १ छक्का हिर्काए।

बलिङतर्फ नेपालका साहब अलामले ३ विकेट लिन सफल भए । स्पिनर साहबले ९ ‌ओभर ४५ रन खर्चिए । अनिलकुमार साहले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

यसअघिका दुईवटै खेल बंगलादेशले जितेको थियो ।

नोबेम्बर ९ देखि मलेसियामा हुने एसिसी यू–१९ एसिया कपमा नेपाल र भारत एउटै समूहमा छन् । समूह ‘ए’ मा नेपालसहित भारत, बंगलादेश र मलेसिया छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एसिसी पश्चिम क्षेत्र च्याम्पियनसिपको विजेताले प्रतिस्पर्धा गर्नेछन्।

एसिया कपमा नेपालले पहिलो खेल कात्तिक २५ मा बंगलादेशसँग खेल्नेछ । नेपालको दोस्रो खेल कात्तिक २६ मा भारतसँग र तेस्रो खेल कात्तिक २७ मा मलेसियासँग छ। खेलमा अन्तिम जित हात पारे पनि नेपालले तीन खेलको एकदिवसीय सिरिज २–१ ले गुमाएको छ । यसअघि बंगलादेश पहिलो खेलमा ३ विकेट र दोस्रो खेलमा १२३ रनले विजयी भएको थियो