काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानमा अमेरिकासँगको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर पहिले बलिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र अमेरिकाबीचको खेल अपरान्ह ४ः१५ बजे सुरु हुँदैछ ।


ADVERTISEMENT

# # #


नेपालले यसअघि पहिलो खेलमा अमेरिकालाई ५ विकेटले हराएको थियो । तर, ओमानसँगको पहिलो खेलमा भने ५ विकेटले पराजित भएको थियो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ भने लगातार दुई हार ब्यहोरेको अमेरिका पहिलो जित निकाल्ने दाउमा छ ।

नेपाली टोलीमा आज एउटा मात्रै परिवर्तन गरिएको छ । विक्रम शोवको ठाउँमा गुल्सन झा आएका छन् ।

यसअघि सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ ।

७ वटै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल र ओमानमा जारी सिरिजमा दुई खेल खेलिसकेको छ । लिगमा नेपालले आजसम्म ६ खेल खेल्दा ३ जितसहित ६ अंक जोडेको छ । नेपाल छैटौँ स्थानमा छ । ओमान १२ खेलमा १० जितसहित २० अङ्क जोडेर शीर्ष स्थानमा छ । १४ खेलमा ६ जित निकालेको अमेरिका १२ अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड ९ अंकका साथ तेस्रो, नामिबिया ८ अंकसहित चौथो, युएई ७ अंक जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अंकविहीन रहँदै पुछारमा छ ।

अमेरिकाविरुद्ध खेल्ने नेपाली टोली:
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी र गुल्सन झा ।