काठमाण्डौं-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबारदेखि तीनदिने चीनको राजकीय भ्रमण गर्नेछन् । चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन सकिएलगत्तै उनी चीनको भ्रमणमा जाँदैछन् । अमेरिकाका लागि चिनियाँ राजदूत कुई तियनकाईले ट्रम्पको भ्रमणका सबै तयारी पूरा भइसकेको जानकारी दिए । औपचारिक भेटवार्ता, भोजबाहेक चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका अमेरिकी समकक्षीबीच अनौपचारिक विचार विमर्शसमेत हुनेछ, चिनियाँ उपविदेशमन्त्री झेङ झेगुवाङले भने । अनौपचारिक कार्यक्रम व्यवस्थापनबारे सूची सार्वजनिक नगरिकनै कुईले भने, ‘ट्रम्प र प्रथम महिलालाई चिनियाँ इतिहास, संस्कृति र जनताबारे जानकारी गराउन ‘केही विशेष तयारी’ गरिएको छ ।’ ट्रम्पको चीन बसाइका क्रममा दुई देशको विकास र आपसी सम्बन्ध विस्तार गर्न अति महत्वपूर्ण उच्च तहको रणनीतिक छलफलका लागि प्रशस्त समय मिलाइएको उनले बताए ।


ADVERTISEMENT


दुई शक्तिशाली देशका राष्ट्रपतिले अमेरिकाको फ्लोरिडामा गत अप्रिलमा सात घन्टा वार्तालाप गरेका थिए । अनौपचारिक कुराकानीको तयारीले दुई नेताबीचको व्यक्तिगत मित्रता र काम गर्नका लागि राम्रो वातावरण मिलाउने चाइना इन्स्टिच्युट अफ कन्टेम्पोरेरी इन्टरनेसनल रिलेसन, अमेरिकी अध्ययन विभागका निर्देशक दा वेइले भने । अमेरिकी राष्ट्रपति ट्रम्पले बेइजिङमा चीन र अमेरिकाबीचको व्यापारिक सहकार्य र कोरियाली प्रायद्विपमा देखिएको सुरक्षा चासोका विषयमा कुरा गर्नेछन् । स्वस्थ आर्थिक तथा व्यापारिक सम्बन्ध दुई देशबीचको सुमधुर सम्बन्धको आधार रहने चीनले जनाएको छ । अमेरिका र चीनबीच सन् १९७९ मा २.५ अर्ब अमेरिकी डलर रहेकोमा सन् २०१६ मा पाँच खर्ब २० अर्ब अमेरिकी डलर बराबरको कारोबार भएको, चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


अमेरिकासँग रहेको असन्तुलित व्यापारको समाधान चिनियाँ सामानको आयातलाई अमेरिकामा कडाइ गर्नुभन्दा अमेरिकाद्वारा थप सामान चीनतर्फ निर्यात गर्ने र दुईतर्फको लगानीलाई बढाउनुपर्ने झेङले बताए ।‘विश्वका दुई शक्तिशाली अर्थतन्त्रकाबीच आर्थिक सम्बन्ध परस्पर फलदायी रहेको छ र रहनुपर्छ’, राजदूत कुईले भने, ‘चीनले सधैँ कोरियाली प्रायदीपमा आणविक निशस्त्रीकरणको पक्षमा आफ्नो मत राख्दै आएको र यसलाई वार्ताद्वारा समाधान गर्नुपर्छ,” झेङले बताए ।

सी र ट्रम्पको गत अप्रिलमा भएको सय दिने आर्थिक सहकार्य बढाउने कार्य योजना अनुसार गत जुलाईमा अमेरिकी गाईको मासुलाई चिनियाँ बजारमा खुला गर्ने सम्झौतापछि अमेरिकी गाईको मासु चिनियाँ बजारमा सुलभ भएको छ । चार उच्चस्तरीय वार्ता संयन्त्रले कल्पना गरेबमोजिम कुटनीति र सुरक्षा, अर्थतन्त्र, साइबर सुरक्षा र सामाजिक तथा जनता जनताबीचको आदानप्रदानबाट आपसी सहकार्यमा प्रगति भएको बताइन्छ । ट्रम्पका साथ अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले व्यापारिक प्रतिनिधिमण्डल पनि आउने चीनको अपेक्षा छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ सम्मेलनपछि हुनलागेको अमेरिकी राष्ट्रपतिको भ्रमण दुई देशको परस्पर फाइदाका लागि हुनेछ अर्थात दुवैको जितको रणनीतिक शुरुवातका लागि हुनेछ । भर्खरै सकिएको चिनियाँ कँग्रेसले चीनको आगामी कूटनीतिको रूपरेखा तयार गरेको छ,” चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडिजका जिउदोङले बताए ।
चीन-अमेरिका सम्बन्ध अन्तर्राष्ट्रिय सम्बन्ध र मानवताका लागि समुदायको साझा भविष्यका लागि निर्णायक रहेको जिउदोङले जोड दिए । ट्रम्पले वासिङटनको नेतृत्व सम्हालेपछि दुवै नेताबीच निकटको सम्बन्ध स्थापित भएको छ ।