काठमाडौं – चालु आर्थिक वर्षको पहिलो महिनामै प्रत्यक्ष विदेशी लगानी (एफडीआई) साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षको भदौ र असारबाहेक सबै महिनामा घटेको विदेशी लगानीमा चालु आर्थिक वर्षको सुरुमै उच्च दरले कमी आएको हो ।


ADVERTISEMENT


कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेकाले विदेशी लगानी घटेको जानकारहरू बताउँछन् ।


ADVERTISEMENT

# # #


‘गत साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशत घटेर ४८ करोड ६ लाख कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रुपैयाँ थियो ।’ गत आर्थिक वर्षको १० महिना विदेशी लगानी घट्यो भने २ महिना बढ्यो ।

२०७७ भदौमा २३.३ प्रतिशत र गत असारमा ०.२ प्रतिशत मात्र विदेशी लगानीमा सुधार आएको थियो । बाँकी सबै महिनामा विदेशी लगानी घटेको थियो । यद्यपि गत आर्थिक वर्षका पछिल्ला महिनामा विदेशी लगानीको घट्ने दरमा भने कमी आएको थियो ।

गत आर्थिक वर्षमा १९ अर्ब ५१ करोड रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानी ०.२ प्रतिशत मात्र बढेको हो । अघिल्लो आर्थिक वर्षमा १९ अर्ब ४८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

विदेशी लगानीको प्रवृत्तिलाई विश्लेषकहरूले कोभिडको प्रभावसँग जोडेर हेरिएको छ । कोभिडको असरका कारण विदेशी लगानी पनि प्रभावित बनेको राष्ट्र बैंकले जनाएको छ । कोभिडको अवस्थामा यति लगानी आउनुलाई पनि सन्तोषजनक मान्नुपर्ने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । यसअघि लगानी सम्मेलनमा प्रतिबद्धता गरिए पनि अवस्था सामान्य नभएकाले लगानी नआएको उनको दाबी छ । कान्तिपुर दैनिकमा खबर छ ।