काठमाण्डौं-भारतको वाल्मीकि टाइगर रिजर्भबाट उद्धार गरी ल्याइएको एउटा गैँडालाई आज बिहान सौराहाको जनकौलीबाट चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । वन सचिब डा. युवकध्वज जिसी, निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव गोविन्द गजुरेल लगायतको उपस्थितिमा गैँडा छोडिएको हो । गत साउन अन्तिम साता आएको बाढीका कारण बगाएर भारत पु¥याएको सो गैँडालाई बिहीबार उद्धार गरी गए राति सौराहा ल्याइएको थियो ।


ADVERTISEMENT


चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीले बगाएर भारत पु¥याई उद्धार गरिएको यो नवौँ गैँडा हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार भारतको वाल्मीकि टाइगर रिजर्भको मदनपुर क्षेत्रबाट अन्दाजी १५ वर्षको पोथी गैँडालाई उद्धार गरिएको हो । मदनपुर क्षेत्र नेपालको सीमा क्षेत्रबाट २० किलोमिटर पूर्वतर्फ पर्दछ ।


ADVERTISEMENT

# # #


नेपालबाट लगेका चार हात्ती र झण्डै ७० जना जनशक्तिको दिनभरको प्रयासबाट विहीबार दिउँसो गैँडालाई नियन्त्रणमा लिइएको पाठकले बताए। डाट गरेर गैँडालाई बेहोस बनाई ट्रकमा राखेर साँझ नेपालतर्फ ल्याइएको हो । भारतकै उत्तर प्रदेशमा पनि अर्को एक गैँडा देखिएको पाठकले बताए । नेपालको सीमा क्षेत्रबाट झण्डै ६० किलोमिटर टाढा वन क्षेत्रमा गैँडा देखिएको सूचना प्राप्त भएको हो । सो क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको एक टोली अवस्था बुझ्नका लागि आज त्यसतर्फ जाँदैछ ।