काठमाडौँ – मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ ।


ADVERTISEMENT


सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले मानवीय क्षति बेहोरेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ । यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट सुरु भएको थियो । सो प्रणाली कात्तिक ३ सम्म रह्यो । त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ ।


ADVERTISEMENT

# # #


पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्को दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो । प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ । ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुपर्यो ।

गृह मन्त्रालयबाट आज प्राप्त पछिल्लो तथ्याङ्कमा ती जिल्लामा कूल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए । यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये पाँचको शव फेला परेको हो । अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन् । बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन् ।

कूल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ । कूल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउँछन् ।

प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पुर्याएकामा अझै ६ वटा सञ्चालनमा आउन सकिरहेको छैन । सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ । धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण सङ्कलन जारी रहेको गृह मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ ।

प्रदेश नं १ मा सबैभन्दा बढी क्षति

प्रदेश नं १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुङ्गा, सङ्खुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो । प्रदश नं १ मा ६७ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन् ।

यस प्रदेशको पाँचथरमा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको छ । त्यसपछि इलाममा १४, सुनसरीमा १० र धनकुटामा पाँचजनाले ज्यान गुमाएका छन् । बेपत्ता हुने सबैभन्दा बढी चारजना पनि पाँचथरका छन् ।

प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनीमा कम क्षति

प्राप्त विवरणअनुसार मुलुकका चार प्रदेश (प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा) भने बाढी, पहिरो र डुबानबाट तुलनात्मकरूपमा कम क्षति भएको छ । प्रदेश नं २ मा सप्तरी जिल्लालाई मात्रै प्रभावित बनाएको छ । उक्त जिल्लामा बाढीमा परेर एक बेपत्ता भएका छन् ।

वाग्मती प्रदेशको सिन्धुली प्रभावित भएको जनाइएको छ । सिन्धुलीमा बाढीबाट एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्व (नवलपुर) मा दुईजनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको प्यूठानमा मात्रै क्षति गराएको छ । प्राप्त विवरणअनुसार उक्त जिल्लामा दुईजनाको मृत्यु भएको र एकजना बेपत्ता रहेको जनाइएको छ ।

कर्णालीका पाँच जिल्ला प्रभावित

कर्णाली प्रदेशका पाँच जिल्ला प्रभावित भएको छ । ती जिल्लामा आठजनाको मृत्यु, चार घाइते र एक बेपत्ता रहेका छन् । प्राप्त विवरणअनुसार कालीकोटमा एक, हुम्लामा ६ र सल्यानमा एकजनाको मृत्यु भएको छ । जुम्लामा एक बेपत्ता छन् भने सुर्खेत र कालीकोटमा गरी चार घाइते छन् ।

यस्तो छ सुदूरपश्चिमको क्षति

सुदूरपश्चिम प्रदेशका सात जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ३७ को मृत्यु भएको छ भने २२ बेपत्ता छन् । सत्र जना घाइते छन् । सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा चार, डडेलधुरामा तीन तथा अछाम र कैलालीमा एक–एकजनाको मृत्यु भएको छ । बझाङमा अझै १९ जना हराइरहेका छन् । डोटी र कैलालीमा एक–एकजना बेपत्ता छन् । रासस