काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडले चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश ( १ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरिएको छ।


ADVERTISEMENT


बैंकको सञ्चालक समितिको मिति सोमबार सम्पन्न ५११ औं बैठकको निर्णयानुसार आर्थिक वर्ष २०७७-७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट सो लाभांश प्रस्ताव गरिएको हो।


ADVERTISEMENT

# # #


बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनस सेयर ( १ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४ औं वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।

बैंकले गत आव २०७७-७८ मा प्रति शेयर आम्दानी  २८।१८ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफा करिब  ३ अर्ब २६ करोड आर्जन गर्न सफल भएको छ। बैंकको स्व–पुँजीमा प्रतिफल १७.०९ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका वाणिज्य बैंकहरू मध्ये पहिलो स्थानमा रहन सफल भएको छ।

बैंकले आव २०७७-७८ मा कर्जातर्फ करिब  ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम  २६५ अर्ब पुर्‍याउन सफल भएको छ, जुन सम्पूर्ण वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै हो। मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब  ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च १२.६६ प्रतिशत बजार हिस्सा रहेको छ।

आर्थिक वर्ष २०७७-७८ मा वाणिज्य बैंकहरूमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ।  यसैगरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब  ८९ अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन करिब  २९८ अर्ब पुर्‍याउन बैंक सफल भएको छ,  जुन सम्पूर्ण वाणिज्य बैंकहरू मध्ये सबैभन्दा धेरै हो।

मुलुकका अन्य वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब  ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ। आर्थिक वर्ष ०७७-७८ मा वाणिज्य बैंकहरूमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.०९ गुणा रहेको छ।