काठमाडौं – नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले आफ्नो किताबले नेपाल-भारत प्रगाढ सम्बन्धकाे तथ्य बाेलेकाे बताएका छन् ।


ADVERTISEMENT


‘काठमाडौं डिलेमा रिसेटिङ् इन्डिया नेपाल टाइज’ पुस्तकको समीक्षा गर्न नेपाल भारत मैत्री समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व भारतीय राजदूत रेले नेपाल र भारतको सम्बन्ध एकदमै मजबुत रहेकोले नकारात्मक टिकाटिप्पणी हुनु गलत रहेको प्रष्ट पारे । उनले आफ्नो किताबले नेपाल र भारतको ऐतिहासिक र प्रगाढ सम्बन्धको व्याख्या गरेको बताएका छन् ।


ADVERTISEMENT

# # #


नाकाबन्दीको विषयमा रेले  भारतले नाकाबन्दी नलगाएको मधेसी दलहरुले  सीमामा धर्ना दिँदा ढुवानीमा समस्या भएको तर्क गरे । उनले तत्कालीन समयलाई स्मरण गर्दै भने ‘नेपालभित्र भारतले जानीजानी संविधानप्रति असन्तुष्टि जनाएर नाकाबन्दी लगायो भन्ने भाष्य स्थापित गराइयो। जुन सही थिएन। त्यसबेला सीमामा धर्ना गर्नेहरुको कारण भारतले सामान पठाउन नसकेको हो । ’

त्यसबेला भारतले संविधानमा मधेशी, जनजाति लगायत समुदायको माग समेट्न नेपालका राजनीतिक दलहरूलाई ‘मैत्रीपूर्ण सुझाव’ मात्र दिएको रेको तर्क छ।

‘भारतले आफूलाई तटस्थ रेफ्रीका रुपमा मात्र उभ्याएको थियो। हामीले त्यसबेला कुनै दबाब या सुझाव नेपालका नेतालाई दिएका थिएनौं। नेपालमाचाहिँ भारतले हस्तक्षेप गरेको गलत अर्थ लगाइयो’ उनले दु:ख व्यक्त गर्दै भने।

उनले  नेपालको संविधानमा मधेशी लगायत सबैको प्रतिनिधित्व होस् भन्नेचाँहि भारतको पनि चाहना रहेको प्रष्ट्याए ।

आईजीपी नियुक्तिका विषयमा भारतले हस्तक्षेप गरेको भन्ने कुरालाई के भन्नुहुन्छ भनी हिमालयपोष्टले सोधेको प्रश्नमा रेले भने,’भारतले कुनै दबाब दिएको होइन । प्रश्न गरेको कारण योग्यता र वरिष्ठताको आधारमा गर्दा राम्रो हुन्छ भन्ने सुझाव मात्र दिएको हो ।’

संविधान जारी हुँदाको समयलाई स्मरण गर्दै रेले भने, ‘नेपालसँग भारतको खुला सीमा भएकाले यहाँ अस्थिरता भए त्यसको सिधा असर भारतमा पर्छ भनेर हामीले सबैको भावना संविधानमा समेट्न आग्रह गरेका थियौँ। तर त्यसको सुनुवाई भएन। सिधै संविधान जारी भयो ।’

उनले नेपालका ठूला राजनीतिक परिवर्तनमा भारतले सदैव सकारात्मक भूमिका खेल्दै आए पनि नेपालमा त्यसलाई भारतीय हस्तक्षेपका रुपमा व्याख्या गर्ने गरिएको बताए । उनले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि पछिल्लो संविधान निर्माणजस्ता महत्वपूर्ण राजनीतिक परिवर्तनमा भारत प्रत्यक्ष जोडिएको बताए।

रेले भारत र नेपालबीचको खुला सीमा दुवै देशको गहनाका रुपमा रहेको बताए । खुला सीमाले जनस्तरको सम्बन्ध र हाम्रो सांस्कृतिक सम्बन्धलाई बलियो बनाइरहेको उनले बताए। नेपालसँगको खुला सीमा बन्द गर्न जरुरी नभएको उनको तर्क छ । ‘नेपालकसँगको सीमा भारत-पाकिस्तान सीमाजस्तो सुरक्षाका हिसाबले जटिल सीमा त होइन नि ?’ उनको प्रश्न थियो।

सीमामा हुने अवाञ्छित गतिबिधि रोक्न दुवै देशका सुरक्षा निकायबीचको सहकार्य मजबुत पार्नुपर्ने उनको तर्क थियो। ‘सीमामा आवतजावत गर्ने नागरिकलाई परिचयपत्रको व्यबस्था गर्नुपर्ने धारणा पनि आएका छन्। मलाई लाग्छ त्यो व्यवहारिक हुँदैन किनकि हजारौँ नागरिकको दैनिक ओहोरदोहोर हुन्छ। त्यसो गर्दा नागरिकलाई नै झन्झट हुन्छ’ उनले भने।

कार्यक्रममा पूर्वराजदूत जयराज आचार्य, नागरिक समाजका सदस्य डा सुन्दरमणि दीक्षितले रेको पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ् इन्डिया नेपाल टाइज’ माथि टिप्पणी गरे। उनीहरुले रेको पुस्तक नेपाल र भारतबीचको सम्बन्ध बुझ्न चाहनेका लागि उपयोगी रहेको बताए।

पूर्वराजदूत आचार्यले चीनसँग नेपालको सम्बन्ध विस्तार भइरहेको बताउँदै भारतसँगको सम्बन्धमा त्यसले असर गर्न नहुने बताए। ‘हामी भारत र चीनको आर्थिक विकासबाट लाभ लिन चाहन्छौँ। चीन हाम्रो नजिकको मित्र मुलुक हो। तर हामी भारतविरुद्ध चीन कार्ड खेल्न चाहँदैनौँ’ उनले भने।

दीक्षितले नेपाल र भारतबीचको सम्बन्धबारे गहन पुस्तक ल्याएकोमा रेलाई धन्यवाद दिए। पुस्तकको प्रसंग उल्लेख गर्दै नेपालका नेता भारतसँग राय सल्लाह लिन आफैँ जाने गरेको बताए। ‘हाम्रा नेता बाहिर भारत विरोधी कुरा गर्छन् भित्रभित्र भारतको नजिक छु भन्दै दूतावास धाउँछन्। हाम्रा नेताको हिपोक्रिसी प्रष्ट देखिन्छ’ उनले भने।

दीक्षितले संविधान जारी गर्ने बेला तत्कालीन सभामुख सुभास नेम्बाङलाई भेटेर मधेशी लगायत सबै पक्षको माग समेट्नका लागि केही दिन संविधान जारी गर्ने मिति धकेल्न आग्रह गरेको बताए।

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महत, पूर्व राजदूतहरु, नागरिक समाजका प्रतिनिधी तथा परराष्ट्र मामिलाका जानकार सहभागी थिए।

नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करीले नेपाल भारतबीच सदियाैं देखिकाे प्रगाढ सम्बन्ध रहेकाे बताउँदै याे आत्मीयताले नै दुई देशकाे प्रगतिमा बल पुग्ने बताए । उनले पूर्वराजदूत रेकाे पुस्तक दुई देशकाे अन्याेन्याश्रित सम्बन्ध बुझ्न फलदायी हुने भन्दै लेखकलाई धन्यवाद समेत दिए ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले नेपाल-भारत सीमालाई नियमन गर्दा दुई देशबीचको ‘रोटीबेटी’ सम्बन्धमा गम्भीर असर पर्ने बताएका छन्।  झाले नेपाल-भारत खुला सीमा नियमन गर्ने कुरा समग्र मधेशी जनताका लागि अमान्य भएको बताए।

‘खुला सीमा भएकै कारण नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहिआएको छ। तर, हाम्रा नेताहरुले भारतसँगको सीमामा पर्खाल लगाउनुपर्छ भन्ने गरेको मैले सुनेको छु। यदि त्यसो गर्ने हो भने त्यसले दुई देशका जनताको आवातजावतमै असर गर्छ। मधेशमा बस्ने सबैको धारणा यही हुनुपर्छ भन्ने मलाई लाग्छ’ उनले भने।

रेको पुस्तकमाथि बोल्दै उनले भारतसँग जस्तो निकटता नेपालको अन्य देशसँग नरहेको बताए। ‘जति हामी भारतका कुरा बुझ्छौँ चीन वा सार्कका अन्य कुनै देशका बारेमा बुझ्दैनौँ’ उनले भने।

झाले भारतसँग सरकारी तहमा सम्बन्धमा बेलाबखत खटपट आउने गरे पनि जनस्तरको सम्बन्ध सदैव राम्रो रहेको बताए।

स्वामी आानन्द अरुणले नेपाल-भारतको खुला सम्बन्धमा जनस्तरमा बुझाइको कमी भएको उल्लेख गरे । उनले नेपाल-भारतको सम्बन्धलाई धार्मिक सांस्कृतिक र आध्यात्मिक दृष्टिले हेर्नुपर्ने बताए । दुई देशको खुला र हितैसी महत्वपूर्ण सम्बन्धमा राजनीति भएकोमा उनले दु:ख लागेको बताए ।

युरोपियन देशहरु खुला सीमा बनाउँदै  एक भइरहेका बेला नेपाल भारतजस्तो सदियौंदेखि खुला सीमा भएको देशमा सीमामा पर्खाल लगाउन आवश्यक नरहेको उनको तर्क थियो ।

आध्यात्मिक दृष्टिले कुनै देशको सीमालाई सीमित नबनाउने भन्दै नेपाल भारतको खुला सीमामा राजनीति गर्नु र विवाद गर्नुभन्दा दुई देशको सम्बन्धलाई अझै प्रगाढ र गाढा बनाउनुपर्ने उनले प्रष्ट्याए ।