काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचपछि नेपाली कांग्रेसले बहुमत ल्याउने र कांग्रेसको एकल सरकार बन्ने बताएका छन् ।


ADVERTISEMENT


आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘अब हुने स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचमा नेपाली कांग्रेसको बहुमत आउनेछ र कांग्रेसले नै सरकार निर्माण गर्नेछ ।’


ADVERTISEMENT

# # #


अहिले सरकार गठबन्धनमा भए पनि आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउने उनको दाबी छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै देशका भ्रष्टाचार नियन्त्रण हुने र कोभिड–१९ बाट क्षति पुगेका क्षेत्रहरुको पुनर्निर्माण भई देश विकासको मार्गमा अघि बढ्ने बताए ।

सहमहामन्त्री डा महतले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमै सम्पन्न हुने दाबी गरे । उनले भने, ‘पार्टीको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुन्छ, मैले महामन्त्रीमा उम्मेदवारी दिन्छु ।’

उनले नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई आजैदेखि निर्वाचनको तयारीमा लाग्न पनि आह्वान गर्दै उनले भने, ‘पार्टीको आसन्न महाधिवेशनको तयारीमा लाग्नुहोस्, महाधिवेशनको तयारीसँगसँगै निर्वाचनको तयारी पनि थाल्नुहोस् ।’

डा महतले हाल देशको सर्वोच्च अदालतमा देखिएको विवाद अदालत आफैँले समाधन गरोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरे । उनले भने, ‘अहिले सर्वोच्च अदालतमा जुन विवाद छ, त्यसले न्याय सम्पादनमा समेत समस्या सिर्जना गरेको छ । यो न्यायालयको विवादको त्यहीँ सर्वोच्चबाटै समाधानको निकास आओस् भन्ने हामी चाहन्छौँ ।’

उनले केपी शर्मा ओलीको नेतृत्वको सरकारले ताप्लेजुङको विकासमा महत्व नदिएको आरोप पनि लाएका छन् । यस्तै, पाथीभरालाई धार्मिक पर्यटकका रुपमा विकास गर्नु आवश्यक रहेको समेत उनको मत छ । तमोर कोरिडोरलाई सरकारले प्राथमिकतामा राखेर विकास गर्न आवश्यक रहेको पनि उनले बताए । रासस