काठमाडौँ– नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ ।


ADVERTISEMENT


जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दशैँ, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो । अहिले चाडपर्व पनि सकिएको र कामदारसँग सहमति भएकाले निर्माणले गति लिने उनको भनाइ छ । उनले भने, ‘निर्माण कम्पनीले पुनः पहिलेकै गतिमा काम गर्दैछ ।’


ADVERTISEMENT

# # #


पहिले तोकिएको कार्ययोजनाभन्दा अहिले एक महिना ढिला भएको छ । गत वर्षमा कोभिडका कारण काममा बाधा पुगेकाले केही ढिलाइ भएको हो । निर्माण कम्पनीले तोकिएकै समयमा सकिने प्रतिबद्धता जनाएको प्रमुख शाक्यको भनाई छ । ‘४२ महिनाबाट एक दुई महिना नै थप्नुपर्ने भए पनि अहिलेको काम हेर्दा त्योभन्दा बढी नलाग्ने देखिन्छ’, उनले भने ।

निर्माण कम्पनीले अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अण्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढाइरहेको छ । विगतका वर्षमा जग्गा प्राप्ति गर्न केही समस्या देखिएको भए पनि अहिले समाधानको चरणमा रहेको उनले सुनाए ।

अरु संरचनामा ‘फ्लाई ओभर’को निर्माण सुरु भइसकेको छ । उनका अनुसार, जग्गा प्राप्ति गरिसकेको ठाउँमा सुरु गरिएको र जग्गा प्राप्त गर्न बाँकी ठाउँमा प्राप्त भएपछि काम गरिनेछ । सुरुङ खनिसकेर ‘ब्रेक थ्रु’ गर्ने र खनिसकेको ठाउँमा स्तरोन्नति सँगसँगै हुनेछ । अरु सबै निर्माण सकिएपछि मात्रै सिस्नेरी खोलामा सर्भिस सेन्टर निर्माण हुने आयोजनाले जनाएको छ ।

‘सुरुङभित्र सबै काम सँगसँगै अघि बढाइए पनि सुरुङभित्र सिसी क्यामरा, बत्ती हाल्नेलगायतका काम पछि हुन्छ’, उनले भने । अहिले निर्माणस्थलमा चार टोली सुरुङ खन्नमा लागेको छ । बाहिर निर्माण गर्ने र भित्र निर्माण गर्ने सहायक कम्पनी छुट्टाछुट्टै भएको र तीनको एकअर्काको काममा कुनै सम्बन्ध नभएको प्रमुख शाक्यले बताए ।

‘निर्माणस्थल हेर्नका लागि इञ्जिनीयर छुट्टाछुट्टै नै हुनुहुन्छ । आयोजनाले एउटा ‘अण्डर पास’ सकिएको र एउटा सुरु गर्न लागिएको छ ।’ धादिङमा ‘अण्डर पास’ सकियो भने काठमाडौँको ‘ओभर पास’ को निर्माण सम्पन्न भएको छ’, जानकारी दिदैँ उनले भने, ‘अहिलेसम्म केही पुल निर्माण सकिएको छ । सिस्नेरी खोलालाई डाइभर्सन भइसकेको छ । स्थानीयवासीलाई पानीको अभाव नहोस् भनेर ट्याङ्की बनाइसकिएको र छिट्टै पाइपलाइन निर्माण गरिनेछ ।’

उनका अनुसार, निर्माण कम्पनीले अहिलेसम्म एक हजार ८१२ मिटर खनेको छ । काठमाडौँ जिल्लातर्फ मुख्य सुरुङमा २८३ मिटर र धादिङतर्फ मुख्य सुरुङतर्फ २८० मिटर गरी मुख्य सुरुङमा ५६३ मिटर खनिएको छ । निकासतर्फ काठमाडौँतर्फ ६६१ मिटर र धादिङतर्फ ४१८ मिटर गरी जम्मा एक हजार ७९ मिटर खनेको छ । धादिङतर्फको ‘बोर्किङ अडिट’ मा १२६ मिटर, क्रस प्यासेजमा ४३ मिटर खनिएको आयोजनाले जनाएको छ । प्राविधिक दृष्टिकोणबाट पाँच सय मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ ।

यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ । नेपालमा पाँच सय मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङ मार्ग हो । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने विभागले जनाएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ ।

दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३।१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुङ्गा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबँेशी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । रासस