वीरगञ्ज – कोरोना महामारीबाट थलिएको आर्थिक गतिविधि विस्तारै लयमा फर्किन थालेको छ । आयातनिर्यात परिमाणका आधारमा देशकै मुख्य भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८-७९ को वैदेशिक व्यापारको आकडाले यस्तो संकेत गरेको हो ।


ADVERTISEMENT


वीरगञ्ज भन्सारबाट हुँदै आएको आयातनिर्यात चालू आवको पहिलो चौमासिक अवधिमा ९२ प्रतिशतले बढेको छ । यो परिमाण गतवर्ष २०७७-७८ को समीक्षा अवधिको तुलनामा उल्लेख्य बढी भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ । वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार चालू आवको साउनदेखि कात्तिकसम्ममा यो नाकाबाट कुल २ खर्ब ६४ अर्ब २७ करोड रुपैयाँ बराबरको आयात निर्यात भएको छ ।


ADVERTISEMENT

# # #


यो परिमाण गत आवको सोही अवधिमा १ खर्ब ३७ अर्ब ६० करोड रुपैयाँ बराबर थियो । गत आव पहिलो २ महीना कोरोना महामहारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा रहेको र त्यसपछि बजार खुले पनि अन्योलले बजारले गति लिन सकेको थिएन । त्यसको प्रभाव वैदेशिक व्यापारको परिमाणमा परेको भन्सारका अधिकारीहरू बताउँछन् ।

२०७६ चैत ११ बाट लगाइएको बन्दाबन्दी र निषेधाज्ञा २०७७ भदौ अन्तिमसम्म जारी थियो । असोजदेखि निषेधाज्ञा हटाइए पनि दैनिकी सामान्य बन्न समय लागेको थियो । बन्दाबन्दी र निषेधाज्ञाको प्रतिकूल प्रभाव आन्तरिक उत्पादन र बजारमा पर्दा वैदेशिक व्यापार घटेको हो । चालू आवको कात्तिकसम्ममा वीरगञ्ज नाकाबाट २ खर्ब २४ अर्ब ७१ करोड रुपैयाँबराबरको विदेशी मालसामान भित्रिएको छ । यो अवधिमा ३९ अर्ब ५६ करोड रुपैयाँबराबरको स्वदेशी उत्पादन निर्यात भएको छ ।

मूल्यका आधारमा गतवर्षको तुलनामा यो ४ महीनामा आयात ८० प्रतिशतले बढेको छ । निर्यात व्यापार २१८ प्रतिशतले बढेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ ।

गत आवको पहिलो ४ महीनामा १ खर्ब २५ अर्ब रुपैयाँ मूल्यको आयात हुँदा निर्यात १२ अर्ब ४४ करोड रुपैयाँको भएको थियो । वीरगञ्ज नाकाबाट पेट्रोलिम पदार्थ, सवारीसाधन, औद्योगिक कच्चा पदार्थलगायत सामान बढी आयात हुन्छ । निर्याततर्फ प्रशोधित खाने तेल, जूस, पिना, कपडा, घागोलगायतको योगदान बढी छ । आर्थिक अभियान दैनिकमा खबर छ ।