काठमाडौं – आर्थिक सशक्तीकरण तथा लघुवित्त अभियान्ता महिला अधिकारवादी नेतृ भगवती चौधरीले नेकपा एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारीको घोषणा  गरेकी छन् ।


ADVERTISEMENT


हाल पार्टीको केन्द्रीय सदस्य रहेकी सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधित्व गर्ने नेतृ चौधरीले चितवनमा हुने दशौं महाधिवेशनमा खुल्ला महिला तर्फ उम्मेद्वारीको घोषणा  गरेकी हुन् ।


ADVERTISEMENT

# # #


२०५८ सालदेखि नेकपा एमालेको संगठित सदस्य भएर राजनीतिमा सक्रिय चौधरीले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा बलियो बनाउनु पर्छ भन्ने मान्यता राख्ने गर्दछिन् । फरवार्ड नेपाल, फरवार्ड माइक्रोफाइनान्स मार्फत देशभरका अढाई लाख बढी महिलाहरुलाई संगठित गर्दै उनीहरुलाई आर्थिक शशक्तिकरणमा जोड्दै आइरहेकी चौधरीले आफुले महिला हक अधिकारकै लागि उम्मेद्वारी घोषणा गरेको बताइन् ।

‘समाजवादको आधारशिला खडा गरी राजनीतिक, आर्थिक, सामाजिक रुपमा पछि परेका समुदायको आवाज मुखरित गर्न मेरो उम्मेद्वारी हो ।’ पार्टीभित्र र बाहिर संगठन सुदृढीकरणसँगै उद्यमशिलता, स्वरोजगार, आर्थिक शशक्तिकरणको अभियानलाई सार्थक बनाउन लाग्ने नेतृ चौधरीले बताइन् ।

नेकपा एमालेसँग मात्र समाजवादको एजेण्डा रहेको बताउँदै नेतृ चौधरीले पार्टीमा युवा सहभागिता, समावेशिता कायम गर्न, राजनीतिमा महिलाको पहुँच स्थापित गर्न सक्रिय भएर लाग्ने दावी गरिन् ।

दशौं राष्ट्रिय महाधिवेशन विषम परिस्थितिमा भएपनि यसले पार्टीभित्र देखिएका मतभेदलाई समाप्त गरेर लैजाने नेतृ चौधरीको भनाई छ । ‘कम्युनिष्ट पार्टीभित्र नेतृत्व तहमा विवाद हुनु नौलो कुरा हैन । विवादले छलफल हुन्छ । छलफलबाट विवाद हल हुन्छ ।’ विधान महाधिवेशनले पार्टीभित्रका मतभेदलाई समाधान गरिसकेको दावी गर्दै चौधरीले राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन र आगामी कार्यदिशा तय गर्ने बताइन् ।

को हुन् भगवती चौधरी ?
भगवती चौधरीलाई आम नेता कार्यकर्ताले मात्र हैन समग्र नेपाली जनताले चिनेका छन् । चौधरी २०७० सालको दोश्रो संविधानसभा र ०७४ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका हेभिवेट उम्मेद्वार विजयकुमार गच्छदारलाई टक्कर दिने नेतृ हुन् ।

सुनसरी तीनलाई गच्छदारको चंगुलबाट मुक्त गराई विकास र समृद्धिको पथमा डोर्याउने धोको छ उनीसँग । तर, २÷२ पल्टको निर्वाचनमा गच्छदारले राज्यसत्ता नै प्रयोग गरी धाँधलीपूर्वक ढंगले चुनाव जितेका छन् । ‘मैले आफ्ना लागि राजनीति गरेको हैन, तमाम् उत्पिडित, दलित, गरिब, असहाय तथा राज्यको नजरमा पर्न नसकेका वर्गको उत्थानको लागि गरेकी हुँ ।’ चौधरी भन्छिन् ।

पार्टीभित्र पनि आदिवासी, जनजाति, मुस्लिम, दलित तथा अल्पसंख्यकको आवाजलाई मुखरित गर्दै पार्टीलाई समावेशी बनाएर अगाडी बढाउनु पर्नेमा चौधरीको जोड छ । विशेष गरी राजनीति गर्नेहरु पनि आत्मनिर्भर हुनुपर्छ, उद्यमशील हुनुपर्छ भन्ने भगवती चौधरीको मान्यता रहेको छ ।

नेतृ चौधरीसँग समाजशाष्त्र र वाणिज्य व्यवस्थापनमा मास्टर्स गरेको अनुभव छ । फरवार्ड माइक्रोफाइनान्स, फरवार्ड इन्टरप्राइजेज, फरवार्ड सहकारी जस्ता आर्थिक शशक्तिकरणका बलिया संस्थाहरुको नेतृत्व गर्दै आइरहेकी उनी दिनेश चौधरी स्मृति प्रतिष्ठान र स्वयं व्यक्तिगत रुपमै सामाजिक रुपान्तरणका लागि २५ वर्षदेखि जनताका घरदैलोमा पुगेकी छन् ।

दुई दशकदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय चौधरी गाउँ कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य हुँदै अहिले केन्द्रीय सदस्यका रुपमा सक्रिय छिन् । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण राज्यमन्त्री समेत भएर देश र जनताकालागि कार्य गरेको अनुभव छ । पहिलो संविधानसभा सदस्य भएर संविधान लेखनमा समेत योगदान पुर्याएकी नेतृ चौधरी मुलुकका अधिकांश क्षेत्र र जिल्लाका जनताका समस्याबाट परिचित छन् ।