राजविराज– यही अगामी मंसिर २१ गते दोस्रो चरणमा हुनलागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीका राजनीतिक दल अहिले चुनावी प्रचारप्रसार सक्रिय छन् ।


ADVERTISEMENT


निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता अहिले शहरी तथा ग्रामीण क्षेत्रको चुनावी अभियानमा लागेको राजनीतिक दलका कार्यकार्ताको भनाइ छ ।


ADVERTISEMENT

# # #


जिल्लाका मुख्य राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले-माओवादी केन्द्र संयुक्त वाम गठबन्धन, राजपा –संघीय फोरम गठबन्धन र राष्ट्रिय प्रजातत्र पार्टी र स्वतन्त्र उम्मेदवारलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता चुनावी प्रचारप्रसारमा लागेका हुन् ।

जिल्लामा स्वतन्त्रसहित १५२ उम्मेदवार अहिले चुनावी मैदानमा छन् । चुनावी मैदानमा होमिएका विभिन्न राजनीतिक दलमध्ये नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन र राजपा–फोरम नेपालको गठबन्धनका नेता तथा कार्यकता र उम्मेदवार गाउँगाउँमा भोट माग्न व्यस्त छन् ।

वाम गठबन्धनले चुनवी अभियानलाई त्रिव्रता दिएको नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्योपानेले बताउनुभयो । सप्तरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धाबाट अशोक मण्डल, राजपा –फोरम गठबन्धनबाट डा सूर्यनारायण यादव र नेपाली काँग्रेसबाट रामदेद शाह उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै मधेसवादी दलका नेता तथा कार्यकर्ता गाउँघरमा चुनावी अभियानमा लागेको सप्तरी क्षेत्र नं २ ख बाट राजपाको तर्फ प्रदेशसभा सदस्यका उम्मेदवारी दिनुभएका मनिसकुमार सुमनले बताउनुभयो ।

खासगरी युवालाई चुनावी प्रचारप्रसारमा लागाइएको र उनीहरुले गाउँदेखि शहरका हरेका ठाउँमा चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको उहाँले जानकारी दिनुभयो । यस्तै वाम गठबन्धनले पनि सप्तरी क्षेत्र नं २ मा चुनावी अभियानलाई तीव्रता दिएको छ ।

यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री उमेशकुमार यादव र फोरम –राजपा गठबन्धनको तर्फबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

उहाँ दुवैजनालाई चुनावमा जिताउनुपर्ने अभियानमा वाम गठबन्धन र गठबन्धनका कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

त्यस्तै सप्तरी क्षेत्र नं २ मा आफ्नो पार्टीबाट टिकट नपाएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र जयप्रकास ठाकुरले पनि चुनावी अभियानलाई तीव्रता दिएको उम्मेदवार ठाकुरले बताउनुभयो ।

उहाँहरू दुवैजनालाई राजपा पार्टीबाट टिकट नदिएपछि अहिले स्वतन्त्र उम्मेदवार बन्नुभएको हो । ठाकुर प्रतिनिधिसभा २ र यादव प्रदेशसभा २ को ख बाट चुनावी मैदानमा प्रतिस्पर्धी बन्नुभएको छ ।

निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दिनेश यादव, वाम गठबन्धनका ताराकान्त चौधरी र संघीय समाजवादी फोरम नेपाल–राजपा गठवन्धनका चन्द्रकान्त चौधरी चुनावी मैदानमा हुनुहुन्छ भने निर्वाचन क्षेत्र नं ४ मा नेपाली कँंग्रेसका तेजुलाल चौधरी, वाम गठबन्धनका मो. इस्लाम, संघीय समाजवादी फोरम नेपाल–राजपा गठबन्धनबाट मृगेन्द्रकुमार सिंह यादव पनि चुनावी मैदानमा हुनुहुन्छ ।

उता नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धनले सप्तरी जिल्लाको चारवटा ससंंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस समेत शुरु गरेका छन् ।

जिल्लाको विभिन्न ठाउँमा चुनावी अभियान तीव्र हुँदा जिल्लामा कुन पार्टीका उम्मेदवार विजयी हुनेभन्ने भविष्यवाणी गर्न कठिन रहेको स्थानीय वुद्धिजीवीको भनाइछ ।

दुई दाजुभाइ चुनावी मैदानमा

यसैगरी, सप्तरी क्षेत्र नं ३ बाट दुई दाजुभाइले उम्मेदवारी दर्ता गराएर अहिले चुनावी मैदानमा उत्रनुभएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका– ५ पातो घर भएका चन्द्रकान्त चौधरी र उहाँकै भाइ ताराकान्त चौधरी यस पटक संगसंगै निर्वाचन लडनुभएको हो ।

एमालेका सक्रिय कार्यकर्ता तथा वाम गठबन्धनका ताराकान्तले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट तत्कालीन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो ।

उहाँलाई एमालेले यस पटक पनि पुनः प्रतिनिधिसभाको उम्मेदबार बनाएको र वाम गठबन्धनका उम्मेदबार उहाले पुनः निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै दाई चन्द्रकान्तले मधेशी गठबन्धनबाट उम्मेदबारी दिनुभएको छ । उहाँलाई राष्ट्रिय जनता पार्टी (राजपा) ले टिकट दिएको हो । फोरम नेपाल र राजपा गठबन्धनबाट उम्मेदबार बन्नुभएका चन्द्रकान्त भने काँग्रेस पृष्ठभूिमका व्यक्ति भएको स्थानीयवासीको भनाइ छ ।

 

चौधरी दाजुभाइ लडेको यो क्षेत्रमा काँग्रेसबाट काँग्रेसका जिल्ला सभापति दिनेश यादव यो क्षेत्रको प्रतिनिधिसभाका लागि उम्मेदबारी दिनुभएको छ ।

यो क्षेत्रमा चौधरी दाजुभाइसहित तीनजना प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । अरुणकुमार यादव/रासस