बीपी राजमार्ग सुचारु भएदेखि नै सिन्धुलीमा जुनार व्यवसायको ढोका खुलेको हो । यसले कृषकको जीवनस्तरमा परिवर्तन मात्रै ल्याएको छैन, मुख्य जीवकापार्जनको स्रोतसमेत बनेको छ । कृषकहरू यसलाई व्यावसायिक उद्योगका रूपमा लैजाने चाहना राखेर अघि बढेका छन् ।


ADVERTISEMENT


जिल्लाको पहिचान बनाएको जुनारलाई यहाँका राजनीतिक दलहरूले चुनावी मुद्दा बनाएका छन् । वाम गठबन्धन र कांग्रेसका उम्मेदवारले जिल्लालाई जुनारको ‘सुपरजोन’ बनाउन आ–आफ्नो भूमिका रहेको भन्दै कृषकको मत तान्ने प्रयासमा छन् ।


ADVERTISEMENT

# # #


पूर्वकृषिमन्त्रीसमेत रहेका माओवादी नेता हरिबोल गजुरेलले आफैं मन्त्री भएका बेला जिल्लालाई जुनार व्यवसायको विकासमा टेवा पुर्‍याउन ‘सुपरजोन’ घोषणा गरिएको दाबी गरे । ‘पहिला सातवटा ‘सुपरजोन’ थिए तर सिन्धुली परेको थिएन, म कृषिमन्त्री भएकै बेला प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सिन्धुलीलाई ‘सुपरजोन’ मा राखिएको हो,’ उनले भने ।

कांग्रेसका पूर्वसांसद मोहन बरालले भने आफ्नै पहलमा सिन्धुलीमा जुनारको ‘सुपरजोन’ घोषणा भएको बताए । सिन्धुलीमा ५ हजार बढी व्यावसायिक जुनार खेती गर्ने कृषक छन् । जीविकाका लागि जुनार लगाउने कृषक त दस हजारकै हाराहारीमा छन् ।

जुनारको ‘सुपरजोन घोषणा’ भएपछि व्यावसायिक उद्योगका रूपमा अघि बढाउन सकिने पूर्वसांसद बरालले बताए । सुपर जोनमा परेपछि जिल्लामा नर्सरीदेखि उत्पादन, प्रोशोधनसम्मका लागि आवश्यक उपकरणलगायतका प्रविधि स्थापनाका लागि सरकारले बजेट विनियोजन गर्छ ।

कृषकहरू भने राजनीतिक दलहरूले चुनावका बेला गरेको प्रतिबद्धता पूरा गर्नेमा विश्वस्त देखिन्नन् । जिल्लालाई आर्थिक रूपमा समृद्ध बनाउन जुनारले ठूलो सघाउ पुर्‍याउने अनुभव उनीहरू सुनाउँछन् । तर, कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्नका लागि योजना र त्यसअनुरूपको बजारीकरणतर्फ सरकारको ध्यान नगएको उनीहरूको गुनासो छ ।

बीपी राजमार्गको खनियाँखर्कदेखि पूर्व ७ किमी टाढा हामी पुग्दा जिल्लाकै अगुवा कृषक राजकुमार थापा जुनार बगैंचामै व्यस्त थिए । पहेंलपुर बगैंचाका आधाभन्दा बढी जुनार त उनले बेची पनि सकेका रहेछन् । यसपटक जुनारमा किरा लागेका कारण त्यति राम्रो नभएको बताउँदै उनले करिब चार लाख रुपैयाँ मात्रै आम्दानी हुने बताए ।

०३० सालदेखि जुनार खेती गरे पनि बीपी राजमार्ग खुल्नुअघि यसको व्यावसायिक बजार बनेको थिएन । ‘जब राजमार्गको सुरुवातपछि जुनारले बजार पाउन थालेको हो, यसले जुनार कृषकका लागि क्रान्तिकारी परिवर्तन नै ल्याइदियो,’ उनले भने, ‘हाल घरमै कृषकले ८० रुपैयाँ केजीसम्मको मूल्य पाउँछन् ।’

सिन्धुलीलाई जुनारले चिनाएको छ । तर, रामेछापलगायत अन्य जिल्लाको जुनारलाई सिन्धुलीकै भनेर बिक्री गर्ने बिचौलियाका कारण जिल्लाको पहिचानलाई नकारात्मक असर पुर्‍याएको उनी बताउँछन् । थापाका अनुसार उन्नत बिरुवा, बाटो, सिँचाइलगायतका योजना अघि बढाएर सबै कृषकलाई जुनार खेतीतर्फ आकर्षित गर्ने हो भने गरिबी हटाउन यसले ठूलो सहयोग पुर्‍याउने देखिन्छ ।