काठमाडौँ – सार्वजनिक ठाउँमा हिँडडुल गर्दा वा सार्वजनिक गाडीमा यात्रा गर्दा तथा व्यवसाय सञ्चालन गर्दा मास्क लगाएको नलगाएको बारे अनुगमन सुरु भएको छ ।


ADVERTISEMENT


बुधबार जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले काठमाडौंका माछापोखरी, गंगबु, लगाएतका क्षेत्रमा अनुगमन गरेको हो । बुधबार अधिकांशले मास्क लगाइएको पाइएको र मास्कको प्रयोग नगर्नेलाई सम्झाईबुझाई छाडिएको अनुगमन टोलीले जनाएको छ । विभिन्न स्थानमा सार्वजनिक सवारीमा यात्रा गर्नेलाई अनिर्वाय रुपमा मास्क लगाउन र सीमित संख्यामा मात्र यात्रु राख्न भनिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


त्यस्तै व्यापार व्यवसाय गर्दा भौतिक दूरी कायम गर्न, भीडभाड नगर्न र मास्कको प्रयोग गर्नका लागि सुझाव दिएको उनले बताइन् । कोरोना नियन्त्रणका लागि निरन्तररुपमा अनुगमन गरिने भन्दै उनले सरकारले तोकेको मापदण्ड पुरा गर्न आग्रह गरिन् ।

त्यस्तै महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले अनुगमनका क्रममा मास्क नलगाउने केहीलाई सम्झाई बुझाई गरेको र कोरोना प्रति जनता सचेत रहेको पाइएको जानकारी दिए ।

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले विभिन्न आदेश जारी गरेको छ । प्रशासनले धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएका छन् भने आमसभा, जुलुस, सभा, भेलालगायत गतिविधि पनि निषेध गरेका छन् ।