काठमाण्डौं- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो र दोस्रो चरणका सबै निर्वाचन क्षेत्रको मतपत्र छापिसकिएको र पठाउने काम भइरहेको बताए । ‘आयोगबाट गरिनुपर्ने निर्वाचन तयारीको शतप्रतिशत काम पूरा भइसकेको छ, अब जिल्लातिर काम बढी छ,’ उनले भने ‘पहिलो चरणमा निर्वाचन हुने जिल्लामा मतदान केन्द्रका लागि कर्मचारी कर्मचारीहरु पनि खटाइसकिएको छ ।’ अब जिल्लामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा र आचारसंहिताको अनुगमन लगायत निर्वाचन तयारीको समग्र कामको जिम्मेवारी छ ।


ADVERTISEMENT


पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रका ४ हजार ४ सय ६५ मतदान केन्द्रमा मतदान हुनेछ । पहिलो चरणका लागि सबैतिर निर्वाचन सामाग्री पठाइसकिएको र दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा मतपत्र लगायतका सामग्री पठाउने काम भइरहेको आयोगका प्रवक्ता सह सचिव नवराज ढकालले बताए । पहिलो चरणमा निर्वाचन हुने सबै मतदान केन्द्रमा मंसिर ७ गतेभित्र कर्मचारी पुगिसक्ने गरी कर्मचारीको खटनपटन भएको उनले जनाए । आयोगले दुवै सभाका लागि समानुपातिकतर्फ एउटा तथा प्रत्यक्षतर्फ अलग अलग दुईवटा गरी तीनवटा मतपत्र छापेको हो । प्रत्येक मतपत्र १ करोड ७४ लाख प्रति छापिएका छन् । मतदाता १ करोड ५४ लाख २७ हजार ९३८ छन् । तीनवटै मतपत्र १२ प्रतिशतले बढी छापिएको हो । समानुपातिकका मतपत्र कात्तिक पहिलो साता नै छापिइसकेका छन् ।


ADVERTISEMENT

# # #


मतपत्र सानो हुने भएपछि समयसीमा भित्रै छापिएको हो । अधिकांश जिल्लाका मतपत्र ‘ए फोर’ आकारभन्दा साना छन् । धेरैजसो निर्वाचन क्षेत्रमा २० भन्दा कम निर्वाचन चिन्ह छापिएका मतपत्र छन् । प्रतिनिधिसभातर्फ कुल १ सय ६५ मध्ये १२ र प्रदेशसभा तर्फ ३ सय ३० मध्ये ११ निर्वाचन क्षेत्रमा मात्रै २० भन्दा बढी चिन्ह रहेका मतपत्र छापिएका छन् । सबैभन्दा सानो मनाङ र मुस्ताङका मतपत्र छन् । त्यहाँका मतपत्रमा २ वटा चिन्ह मात्र छन् । सबैभन्दा ठूलो महोत्तरीको प्रदेशसभा तर्फ ३(२) निर्वाचन क्षेत्रमा ३२ वटा चिन्ह भएका मतपत्र छापिएका छन् ।

समयसीमा भित्र मतपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रको प्रेसलाई अतिरिक्त समयमा पनि सञ्चालनमा ल्याइएको र थप जनशक्ति समेत परिचालन गरिएको थियो । ‘थप सिफ्टमा प्रेस चलाइयो, रातदिन नभनी काम गराइएको छ,’ उनले भने ‘दोस्रो चरणको निर्वाचन हुने जिल्लाहरुमा मंसिर ७/८ गतेभित्र सबै मतपत्र पठाइसक्ने लक्ष्य लिएको छौं ।’ आयोगको कार्यतालिकामा भने मंसिर ११ भित्र ढुवानी गरिसक्ने उल्लेख छ । प्रवक्ता ढकालले पहिलो चरणका निर्वाचनमा मौसमलाई चुनौतिका रुपमा लिइएको बताए । हिमाली जिल्लामा हिमपात भएर कम मतदान हुने हो कि भन्ने संशय आयोगमा छ । कतै कतै हिमपातको सम्भावनालाई हेर्दै मतदाताहरु सुरक्षितस्थलतर्फ बसाईंसमेत सर्ने क्रम सुरु भएको छ । मौसम र भौगोलिक विकटतालाई हेर्दै कतिपय जिल्लाले मतदान केन्द्रमा कर्मचारी र मतदान सामग्री पठाउन आयोगसँग हेलिकप्टरको माग गरेका छन् । जिल्ला सुरक्षा समितिले माग गरेअनुसार आवश्यकता हेरी हेलिकप्टर पठाइने ढकालले बताए । ५ सय जनासम्म मतदाता रहेका केन्द्रमा ७ र त्यो भन्दा बढी मतदाता रहेका केन्द्रमा ८ जना कर्मचारी परिचालन गरिएका छन् । त्यसवाहेक प्रत्येक केन्द्रमा आवश्यकता अनुसार स्वयंसेवक समेत खटाइने छ ।

  • सुरक्षा चुनौतिमा चासो 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यतिबेला सबैभन्दा ठूलो विषय सुरक्षाकै रहेको बताए । उनले आयोगको असाध्यै चिन्ता र चासो सुरक्षा व्यवस्थालाई लिएरै रहेको उल्लेख गरे । उनले निर्वाचनमा खटाइएका कर्मचारी, मतदाता, उम्मेदवार र जिल्ला जिल्लामा पठाइएका निर्वाचन सामग्रीको सुरक्षाको चिन्ता आयोगलाई रहेको बताए । निर्वाचन नजिकिएसँगै उम्मेदवार लक्षित आक्रमण तथा बम विष्फोटका घटनाहरु बढेपछि आयोगले सुरक्षा सवालमा सरकारसँग गम्भीर चासो प्रकट गरिसकेको छ । ‘निर्वाचनमा जोडिने सबैको सुरक्षाको प्रत्याभूति हुनुपर्छ, अनि मात्रै निर्वाचन स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ,’ उनले भने ‘बढेका हिंसात्मक घटनाहरुलाई सरकारले तत्कालै नियन्त्रणमा लिनसक्नुपर्छ ।’