काठमाण्डौं-प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर संविधान कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको औंल्याउँदै सुरक्षाका सबै उपाय अवलम्बन गरी चुनावलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयद्वारा सोमबार आयोजित प्रदेश नं.३ को सुरक्षा गोष्ठीमा देउवाले निर्वाचन असफल पार्न खोज्ने विप्लवलगायत जुनसुकै समूहका व्यक्तिलाई पनि पक्राउ गरी जेल हाल्न निर्देशन दिए ।


ADVERTISEMENT


गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका उच्च सुरक्षा अधिकारी र गृह मन्त्रालयका उच्च पदाधिकारी सम्मिलित गोष्ठीमा प्रधानमन्त्री देउवाले भने, ‘विप्लवलगायत विभिन्न समूहबाट उम्मेदवारमाथि आक्रमण गर्ने, बम पड्काउने र जनमानसमा त्रास र भय सिर्जना गर्ने काम भएको छ, त्यसैले त्यस्ता पक्षलाई पक्राउ गरेर जेल हाल्नुपर्छ ।’


ADVERTISEMENT

# # #


उनले बुथ क्याप्चर गर्नेसम्मका प्रयास हुन सक्ने भन्दै त्यसतर्फ सचेत रहँदै यस्ता हर्कत निस्तेज पार्न सुरक्षा निकाय सक्षम हुनेमा विश्वास व्यक्त गरे । देउवाले निर्वाचन हुन नसके लामो संघर्षबाट ल्याइएको संविधान कार्यान्वयन सफलतापूर्वक गर्न पनि निर्वाचन सफल पार्नुपर्नेमा जोड दिए ।

‘लामो लडाइँबाट हामीले संविधान बनाएका छौं । संविधान कार्यान्वयन गर्न निर्वाचन अत्यावश्यक छ । निर्वाचनमा जनताले निर्भिकतापूर्वक भोट हाल्न पाउनुपर्छ । सरकार बनाउने र प्रतिनिधि छान्ने काम जनताको हो । जनता नै देशका मालिक हुन् । जनतालाई पूर्ण सुरक्षा दिन आवश्यक छ’, उनले भने ।

प्रधानमन्त्री देउवाले सुरक्षा कायम गर्ने प्रमुख जिम्मेवारीमा रहेको प्रहरीको चेन अफ कमान्डको पनि उचित व्यवस्थापन जरुरी रहेको औंल्याए । ३ नम्बर प्रदेशमा उपत्यका तीन जिल्लासहित रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन र धादिङ पर्छन् । यी जिल्लामा नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादीले केही दिनयता गतिविधि बढाएको छ ।

नुवाकोटमा अघिल्लो साता कांग्रेस नेता डा.रामशरण महतलाई लक्ष्य गरी बम विस्फोट गराइएको थियो । विस्फोट विप्लवकै कार्यकर्ताले गराएको पुष्टि प्रहरीले गरिसकेको छ । गोष्ठीमा गृहसचिव मोहनकृष्ण सापकोटाले निर्वाचनका खटिएर राम्रो काम गर्ने सुरक्षाकर्मीलाई पुरस्कृत गरिने बताए । गोष्ठीमा क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेले सुरक्षाका दृष्टिले चितवन चुनौतीपूर्ण जिल्ला रहेको रिपोर्टिङ गरेका थिए ।

‘चितवनमा ठूला नेताहरू (पुष्पकमल दाहाललगायत) उठेका छन् । विप्लवको बढी क्रियाकलाप देखिएको छ । सुरक्षाकर्मी धेरै संवेदनशील भएर खटिनुपर्ने देखिन्छ’, पाण्डेले भने । निर्वाचन आयुक्त सुधीरकुमार शाहले ३ नम्बर प्रदेश जोखिमपूर्ण रहे पनि निर्वाचन बिथोल्ने व्यक्ति कम पक्राउ गरिएकोतर्फ ध्यानाकर्षण गराएका थिए । उम्मेदवारलाई एक्लै हिँड्न नदिने, आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने र क्षेत्रमा जाँदा पहिला सर्भिलेन्स गराएर मात्रै पठाउन शाहले ध्यानाकर्षण गराएको बैठकका एक सहभागीले जानकारी दिए।

सुरक्षा गोष्ठीमा गृहसचिव, सेनाका रथी, तीनवटा सुरक्षा निकाय क्रमशः प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, क्षेत्रीय प्रशासकसहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी र संघीय प्रहरी एकाइ कार्यालय प्रमुख उपस्थित थिए ।प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सबै जिल्ला सुरक्षा चुनौतीको दृष्टिकोणले उत्तिकै जोखिमपूर्ण रहेकाले कडा ड्युटी गर्न निर्देशन दिएका थिए ।