काठमाण्डौं-सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले केही दिनअघि ३३ जनाको ज्यान जाने गरी धादिङको गजुरीमा भएको बस दुर्घटनामा अत्यधिक गति, चालकको तनाव र साँघुरो सडक कारक रहेको औंल्याएको छ । कात्तिक ११ मा राजविराजबाट काठमाडौं आइरहेको बस गजुरीमा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव डा.मानबहादुर विकको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिले दुर्घटनाको कारण औंल्याउँदै विभिन्न सुझावसहित प्रतिवेदन बुझाएको छ ।


ADVERTISEMENT


समिति सदस्य एवं गृह मन्त्रालयका उपसचिव शरदकुमार पोखरेलले आफूहरूले दुर्घटनाको कारण औंल्याउँदै दुर्घटना हुन नदिने उपाय र सुझावसहित सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिए । पोखरेलका अनुसार छानबिन टोलीले राजविराज, हेटौ‌डा, चितवन, पथलैयालगायत क्षेत्रको समेत निरीक्षण गर्नुका साथै दुर्घटनाका घाइते, सरोकारवाला, यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय बासिन्दा, यातायात मजदुरसँग छलफल गरेर प्रतिवेदन तयार पारेको हो । ‘गाडीको तीव्र गति, चालकको तनाव र बाटोमा आवश्यक ट्राफिक चिह्न नभएकाले दुर्घटना भएको निष्कर्ष निकालेका छौ, समिति सदस्य पोखरेलले भने। उनका अनुसार बाटो साँघुरो रहेको र बाटोमा कुनै पनि किसिमको ट्राफिक चिह्न नरहेकाले दुर्घटना भएको पाइएको छ।


ADVERTISEMENT

# # #


काठमाडौंबाट हेटौंडा जाँदा र पुनः हेटौंडाबाट काठमाडौं फर्कनुपर्दा चालकले अत्यधिक तनाव महसुस गरेको गाडीका घाइते यात्रुले बताएको पोखरेलले जनाए। गाडी चालक सन्तोष चौधरी बेपत्ता छन्। छानबिन समितिले बिग्रिएको बाटो मर्मत गर्न नसक्ने सडक विभाग र घुमाउरो बाटोमा ट्राफिक चिह्न राख्न नसक्ने ट्राफिक प्रहरीलाई पनि दुर्घटनाको सहायक कारण औंल्याएको छ ।

छानबिन समितिले आगामी दिनमा धादिङलगायत मुलुकका अन्य अप्ठ्यारो र भिरालो बाटोमा आवश्यकताअनुसार ट्राफिक चिह्न राख्नुपर्ने, चालकका लागि बीच बाटोमा रिफ्रेसमेन्ट सेन्टर राख्नुपर्ने, १० वर्षदेखि हेभी गाडीको लाइसेन्स नदिइएकोमा तुरुन्त प्रक्रियाअनुसार लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने सुझाएको छ।