काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कुष्ठरोग निवारणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।


ADVERTISEMENT


विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी भर्चुअल पत्रकार सम्मेलन कार्यक्रममा सन्देश दिदैँ उनले कुष्ठरोग निवारणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सन् २०१० मा नै नेपाललाई आधिकारिक रुपमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको जानकारी गराउँदै मन्त्री खतिवडाले यसका लागि  इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाको अथाह सहयोग रहेको उल्लेख गरे ।

यद्यपि उक्त घोषणापश्चात् नेपाल हालसम्म पनि कुष्ठरोग निवारणकै अवस्थामा रहेको भन्दै यसका निमित्त मन्त्रालयको समन्वयता तथा कुष्ठरोग नियन्त्रण तथा अपङ्गता व्यवस्थापन महाशाखालगायत विभिन्न साझेदार निकायहरुको सहकार्यमा यससम्बन्धि जनचेतना अभिवृद्धिका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिदैँ आएको उनको भनाई छ ।

यस रोग निवारण लक्ष्यप्राप्तिका लागि सरकार निरन्तर प्रयासरत रहेको जनाउँदै मन्त्री खतिवडाले भने, ‘यसका निमित्त मन्त्रालय विभिन्न तहका स्वास्थ्यकर्मीहरुको क्षमता, भौतिक पूर्वाधारहरुको व्यवस्था, निगरानी, अनुगमन, कुष्ठरोग पिडितको परिवार सशक्तिकरण साथै भेदभाव न्युनिकरण एवम् पुर्नस्थापनामा थप सुधार गर्न प्रतिबद्ध रुपमा लागि परेको छ ।’

यस्तै, कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने कुष्ठरोग निमूलीकरणका निमित्त एकजुट आवश्यक रहेको र यसका लागि सम्बन्धित सबै निकायहरुको खाँचो रहेकोतर्फ औल्याए ।

मानव जातिलाई हजारौँ वर्षदेखि प्रभावित गर्दै आएको कुष्ठरोगलाई विशेषगरी पूर्विय समाजमा सामाजिक कुरीतिसंग जोडिएर हेर्ने प्रचलन रहेको थियो । परिणामस्वरुपः यस रोगबाट ग्रसित व्यक्तिहरु आफ्नो रोग लुकाएर बस्ने गर्थे । र, आम व्यक्तिमा व्याप्त यस रोगप्रतिको सोहि अन्धविश्वासलाई हटाउनका लागि नै सन् १९५४ देखि नै प्रत्येक वर्ष जनवरी ३० तारिखलाई ‘विश्व कुष्ठरोग दिवस’ को रुपमा मनाउँदै आएको छ ।

सोहीअनूरुप नेपालमा पनि आज विभिन्न कार्यक्रमहरु आयोजना गरेर ६९ औंं कुष्ठरोग दिवस मनाइँदै छ। ‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्सम्मानको लागि ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ मनाउन लागिएको यस अवसरमा आज अपरान्ह साढे ६ बजे सांकेतिक रुपमा धरहरामा बत्ति बालिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

कुष्ठरोग सम्बन्धि जानकारीमुलक सन्देश

चिकित्सा क्षेत्रअन्तर्गत हान्सेन्स् रोग (एचडि) पनि भनिने कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरीयम लेप्रे नामक सुक्ष्म जीवाणुबाट हुने जीर्ण संक्रमण हो ।

विशेषगरी छाला एवम् स्नायुमा असर पुर्‍याउने यस रोग लागेपछि व्यक्तिको छालामा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुदाँ थाहा नहुनुका साथै मांशपेशी पनि कमजोर हुने गर्दछ ।

एकबाट अरुमा सजिलै सर्ने एवम् समयमै उपचारको अभावमा अपङ्गताको जोखिम समेत रहने यो रोग नियमित उपचारबाट पूर्ण रुपमा निको पार्न सकिन्छ । यसका लागि नेपाल सरकारले स्वास्थ्य संस्थामा निःशूल्क उपचार समेत प्रदान गर्दै आएको छ ।