काठमाडौँ– नेपाली कांग्रेसका बौद्धिक युवा केन्द्रीय सदस्य तथा पार्टीको भातृ संस्था नेपाल विद्यार्थी संघका पूर्व सभापती नैनसिंह महरले नेताहरु बिग्रिएकै कारण राजनीति बिग्रिएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


लोकप्रिय मतसहित कांग्रेस केन्द्रीय कमिटिमा ईन्ट्री गरेका महरले नेता हरेक हिसाबबाट पारदर्शी हुनसके मात्रै राजनीति स्वच्छ बन्न सक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाको गृहजिल्लाबाटै राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने महरले एकातिर अपवाद बाहेकका राजनीतिक दलका नेताहरु चुनाव जित्न र पदका लागि मात्रै जनता र विकासका कुरा गर्ने र अर्कोतिर स्थायी सरकार भनेर चिनिने कर्मचारीतन्त्र तलबका लागि मात्रै काम गर्ने गरेको आरोप लगाए । आफूलाई भेट्न आउने मानिसहरु सोर्सफोर्स र व्यक्तीगत काम बाहेक सामाजिक कामका लागि विरलै मात्र आउने नेता महरको भनाई छ ।

‘राजनीति गर्ने जनता र विकास चाहि त्यतिबेला मात्रै दिमागमा आउने रहेछ जतिबेला उसले भोट माग्नुपर्यो र जित्नुपर्यो । जबकि राजनीति निरन्तर चलिरहने प्रकिया हो’, बोल्दै नेता महरले भने, ‘जनता र समाज राजनीतिकर्मीका लागि प्राथमिकता परिराख्नुपर्ने हो तर स्कुल देखि पुलबाटोसम्म हामी चुनावको बेला मात्रै गर्छौ । अपवादबाहेकका नेता निर्वाचन जित्न र पद प्राप्तीका लागि मात्रै विकास र जनताका कुरा गर्दा रहेछन् ।’

आफूलाई भेट्न आउनेहरुमध्ये ९९ प्रतिशत मानिसहरु सरुवाबढुवा र आफ्नो व्यक्तीगत कामका लागि आउने गरेको आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘यो सब हुनुको कारण नेताहरु हो किनकी हामीले नै त्यस्तो सिस्टम बनाइदिएका छौ ।’

केही वर्ष अगाडी आफ्नै पार्टीका सिनियर नेताहरुलाई सोर्सफोर्सले देश पनि बन्दैन र हामीहरु समेत तनावले छिट्टै मर्ने भयौ भनेर राखेको प्रस्ताव स्मरण गर्दै नेता महर भन्छन्, ‘यो सोर्सफोर्सलाई सधैका लागि बन्द गर्न कानुन नै बनाऔँ र यस्तो गर्नेलाई भ्रष्टाचार भन्दा कडा सजायको व्यवस्था गराऔँ भनेर ती नेतालाई प्रस्ताव राख्दा ती दुईजना पूर्वमन्त्रीले जवाफ दिदै भने लौ कस्तो कुरा गरेको त्यस्तो गर्यो भने हामीकहाँ को मान्छे आउछन् किन आउछन् मान्छे ?’

नेता महरले नेताहरुले सोर्सफोर्स बन्द भयो भने हामीलाई भेट्न को आउँछ भन्ने यो मानसिकताबाट मुक्त हुनका लागि प्रतिबद्ध हुनैपर्ने बताए । सोर्सफोर्सलाई पूर्ण रुपमा अस्वीकार गर्न नसकिने र प्रक्रियामा रहेको काममा सहयोग गनुपर्ने र कानुन नै मिचेर काम गर्न नहुने नेता महरको जिकिर छ ।

राजनीति गर्ने मान्छे नैतिक रुपमा अब्बल हुनैपर्ने र नैतिकता भन्ने हतियारलाई बचाएर राख्न सकेमात्रै जनताको विश्वास जित्न सकिने नेता महरको विश्वास छ ।