काठमाण्डौं-ताप्लेजुङमा तीन सय बढी हतियार दर्ता भए पनि ४७ थान हतियार मात्र प्रहरीसमक्ष बुझाइएको छ । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावलाई लक्षित गरी जिल्ला सुरक्षा समितिले ईजाजत प्राप्त हतियार पनि बुझाउन आग्रह गर्दा ४७ थान मात्र हतियार प्रशासनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । जुन संख्या स्थानीय तहको निर्वाचनको समयमा जम्मा भएका हतियारभन्दा ५ वटाले बढी हो ।


ADVERTISEMENT


स्थानीय तहको निर्वाचनको समयमा ४२ थान बुझाएकोमा अहिले ५ वटा थप भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिए । ‘स्थानीय तहको निर्वाचनको समयमा बुझाउने सबैले पुन बुझाएका छन्’, दाहालले भने, ‘बाँकी पाँच वटा मात्र थपिए । अधिकांश इजाजत लिएकाहरुले द्धन्दको समयमा लुटेर लगे भन्ने गरेका छन् ।’


ADVERTISEMENT

# # #


जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङको तथ्याङ्कमा भने दर्ता भएका हतियारको संख्या ३ सय ६७ थान रहेको छ । जसमा २२ बोर २० थान, १२ बोर १ सय १७ थान, भरुवा बन्दुक २ सय २८ थान र हावादारी २ थान रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भगिमान मादेनले जानकारी दिए ।

अहिले इजाजत दिइँदैन यो तथ्याङ्क पहिले देखिकै हो, अधिकारी मादेनले भने, ‘अधिकांश हतियार ताप्लेजुङबाट नविकरण पनि भएको छैन ।’ जिल्लामा दर्ता भए पनि भरुवा बन्दुक बाहेकका हतियार देशभर नविकरण गर्न मिल्ने भएकाले जिल्लामा थोरै मात्र नविकरण पनि भएको हुन नसक्ने मादेनले बताए ।

हालसम्म २२ बोर ६ वटा र १२ बोर ३० वटा मात्र नविकरण गरिएको जनाइएको छ । भरुवा बन्दुक गाउँपालिकामा नै दर्ता गर्न मिल्ने भएकाले प्रशासनमा तथ्याङ्क नभएको सुचना अधिकारी मादेनले बताए । लिम्बु समुदायको बढी बसोबास भएको ताप्लेजुङमा धेरै घरेलु हतियार भएको आशंका गरिए पनि सोचे अनुरुप हतियार नबुझाएको सुरक्षा निकायको विश्लेषण छ । लिम्बु समुदायको संस्कृति अनुसार मृत्यु र विवाह संस्कारको समयमा बन्दुक पड्काउने चलन रहेको छ ।