काठमाडौँ– नेपाल खेलकुद महासंघ (नेकोस) ले तीन भिन्न–भिन्न विधाका खेलाडीलाई सम्मान गरेको छ । खेलाडीको मिहिनतले हासिल गरेको उपलब्धिको उच्च मुल्याङ्कन गर्दै नेकोसले शनिवार एक समारोहबीच उनीहरुलाई नगदसहित सम्मान गरेको हो ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त कार्यक्रममा सम्मानित हुनेमा ब्याडमिन्टन, प्यारा तेक्वान्दो र महिला भलिबल खेलाडी रहेका छन् । नेकोस दोश्रो महाधिवेशन आयोजक कमिटी संयोजक कृष्ण बस्नेत (पर्शुराम) को अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा गत डिसेम्बरमा बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु एशियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप– २०२१ मा स्वर्ण पदक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगद १ लाख सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा संस्थाले नेपाल भलिबल संघलाई समेत प्रशंसा पत्र प्रदान गरेको छ । नेपालका तर्फबाट प्रशिक्षक र व्यवस्थापकसहित १४ जनाको टोलीले सहभागिता जनाएको सो खेल डिसेम्बर २१ देखि ३१ सम्म सञ्चालन भएको थियो ।

यस्तै, जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरियो । सोही अवसरमा खेल प्रेमीले संकलन गरेको २० हजार नगद पनि प्रिन्सलाई प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो ।

बहराइनको मानामा भएको चौथो युथ एसियन पारा गेम्समा पदक जित्न सफल ३ पारा तेक्वान्दो खेलाडीसहित ५ सदस्यीय टोली पनि सम्मानित भए । स्वर्ण विजेता पलेशा गोवद्र्धनलाई १५ हजार, रजत विजेता सिर्जना घिसिङलाई १० हजार र कास्य विजेता विशाल गर्बुजालाई ५ हजार नगदसहित सम्मान गरियो । प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक नन्दा बस्याललाई पनि नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रमको सो अवसरमा नेकोसका अध्यक्ष बस्नेतले खेलाडीहरु देशका गहना रहेको भन्दै आगामी दिनहरुमा पनि खेलाडीलाई प्रोत्साहन गर्नका लागि कुनै कसुर बाँकी नराख्ने बताए । कार्यक्रममा उनी लगायत पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतले खेलाडीहरु सम्मान गरेका थिए । सोही कार्यक्रममा तेक्वान्दोको प्रदर्शनी खेल प्रस्तुत गर्ने नेपाल टाइगरका टोलीलाई प्रोत्साहन स्वरुप राष्ट्रिय खेलकुद परिषद् एवं कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवरले नगद २० हजार प्रदान गरेका थिए ।

नेकोसका अनुसार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने नीति अनुरुप संस्थाले सो सम्मान कार्यक्रमको आयोजना गरेको हो ।