काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल एमसीसी पास गर्न सघाउने भन्दै प्रधानमन्त्रीको शरणमा गएको टिप्पणी गरेका छन् । शनिवार एमाले निकट कानून व्यवसायीहरूको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT


कांग्रेसले एमालेसँग संवाद थालेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गठबन्धन भत्काएर आफूहरूलाई सडकमा नपुर्‍याउन प्रधानमन्त्रीको शरणमा पुगेको ओलीले बताएका हुन् । ‘हामी एमसीसी पास गर्छौं गठबन्धन जोगाइदिनुस् प्रभु भनेर प्रचण्ड र माधव नेपाल शेरबहादुर देउवाको शरणमा गएका रहेछन् । प्रधानमन्त्रीले हेर्छु, कत्तिको इमान्दार छौ भनेर पठाएछन्,’ ओलीले भने ।


ADVERTISEMENT

# # #


ओलीले एमसीसीका सम्बन्धमा एमालेले देश हितभन्दा पर गएर निर्णय नगर्ने बताएका छन् । एमसीसीबारे देशको हित, विकास र अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर पार्टीले निर्णय गर्ने दाबी गरेका छन् ।

‘हामी एमसीसीमा देश हितभन्दा पर गएर निर्णय गर्दैनौं,’ ओलीले भने । तर, एमसीसीबारे पार्टीको धारणा संसदमै बताउने र त्यसका लागि एमालेलाई संसदीय प्रक्रियामा सहभागी हुने वातावरण चाहिने ओलीले बताए ।

‘हामी संसदमा राय पेश गर्न चाहन्छौं । गठबन्धनले संसदमा सहभागी हुन दिएको छैन । संसदको प्रक्रियामा सहभागी हुन नदिने हो भने पास वा फेल गर्ने कसरी ?,’ ओलीले भने ।

केपी ओलीले जस लिन्छ भनेर प्रचण्डले एमसीसी रोकेर राखेको समेत उनले आरोप लगाए । उनले भने, ‘केपी ओलीले जस लिन्छ भनेर जुनजुन सभामुख बन्यो त्यसलाई प्रचण्डले रोक्न लगाए । पछि दरबारिया शक्तिहरू सक्रिय हुन थाले र एमसीसीमा च्याखे थाप्न थाले ।’

अरूले सुटुक्क सम्झौता गरेजस्तो आफू नेतृत्वको सरकारले सुटुक्क कार्यान्वयन नगरेर संसदमा छलफल भएर जनताले थाहा पाएर निर्णय होस् भनेर एमसीसी संसदमा लैजाने निर्णय गरेको पनि ओलीले प्रस्ट्याए । ‘संसदले छलफल गरेर निर्णय गरोस् भनेर एमसीसी हामीले संसदमा पेश गर्ने निर्णय गरेका हौं,’ ओलीले भने ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पत्र लेखेर एमसीसी माग गरेको, कृष्णबहादुर महरा परराष्ट्रमन्त्री हुँदा वार्ता भएको र ज्ञानेन्द्रबहादुुर कार्कीले सम्झौता गरेको भन्दै ओलीले एमसीसीमा झलनाथ खनाल, प्रचण्ड र माधव नेपाल उत्ताउलो रूपमा प्रस्तुत भएको समेत आरोप लगाए ।