पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज ३२ जिल्लामा निर्वाचन हुँदैछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा १११ जनप्रतिनिधिका लागि ७०२ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।


ADVERTISEMENT


प्रतिनिधिसभाका ३७ स्थानका लागि २८२ र प्रदेशका ७४ स्थानमा लागि ४२० उम्मेदवार चुनावी मैदानमा छन्। एक करोड ५४ लाख मतदातामध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ मतदाता सहभागी हुँदैछन्।


ADVERTISEMENT

# # #


यसअघिनै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई अपिल गरेका थिए। सम्पूर्ण तयारी पूरा भएको बताउँदै यादवले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका हन्।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा चार हजारभन्दा बढी मतदान केन्द्र तोकिएका छन्।  ३२ जिल्लामा दुई हजार ९१९ मतदान स्थल र चार हजार ४६५ निर्वाचन केन्द्र तोकिएका छन्।

निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनमा करिब ५० हजार कर्मचारी चुनावमा खटिएका छन्। चुनावका लागि स्वयंसेवक पनि खटिएका छन्।

निर्वाचन पर्यवेक्षणका लागि पहिलो चरणमा करिब १० हजार पर्यवेक्षक खटिनेछन्।  यो सङ्ख्या स्वदेशी र विदेशी दुवै संस्थाको हो।  युरोपेली सङ्घ, कार्टर सेन्टर लगायतका पर्यवेक्षक चुनावमा खटिनेछन्।  निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि चार विदेशीसहित ५६ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ।

परिचयपत्र नभए पनि मतदान

निर्वाचन आयोगले प्राविधिक कारणले मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकता वा अन्य परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरेको छ।  आयोगले २०७० को संविधानसभा सदस्य निर्वाचनमा वितरण गरिएको परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र तथा सरकारी निकायले प्रमाणित गरेको अन्य कुनै पनि फोटोसहितको परिचयपत्रबाट पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो।

अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, ज्येष्ठ नागरिक, अशक्त बिरामी लगायतलाई मतदानमा प्राथमिकताको व्यवस्था मिलाउन पनि मतदान अधिकृतलाई आयोगले निर्देशन दिएको छ।

यी जिल्लामा हुँदैछ चुनाव

हिमाली र उच्च पहाडी गरी ३२ जिल्लामा आइतबार निर्वाचन हुँदैछ।  प्रदेश नम्बर २ बाहेकमा सबै प्रदेशका केही जिल्लामा निर्वाचन हुन लागेको हो।  आइतबार पहिलो चरणमा प्रदेश नम्बर १ का १४ जिल्लामध्ये सात जिल्लामा चुनाव हुँदैछ।

प्रदेश १ का सोलुखुम्बु, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङमा निर्वाचन हुँदैछ।  यस्तै प्रदेश ३ का १३ जिल्लामध्ये ६ जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ जसमा नुवाकोट रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप रहेका छन्।

प्रदेश नम्बर ४ का ११ जिल्लामध्ये पहिलो चरणमा आइतबार ६ जिल्लामा मतदान हुँदैछ जसमा मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा छन्।  प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये पहिलो चरणमा दुई जिल्लामा मात्र निर्वाचन हुँदैछ जसमा रोल्पा र रुकुम पूर्व रहेका छन्।

पहिलो चरणमा प्रदेश नम्बर ६ को ७ जिल्लामा निर्वाचन हुँदैछ।  प्रदेश ६ का १० जिल्लामध्ये अन्य तीन जिल्लामा दोस्रो चरणमा निर्वाचन हुनेछ।  आइतबार प्रदेश ६ का रुकुम पश्चिम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पामा मतदान हुँदैछ।  प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये आइतबार चार जिल्लामा निर्वाचन हुनेछ।  दार्चुला, बझाङ, बाजुरा र बैतडीमा आइतबार निर्वाचन हुनेछ।

तीन मतपत्र, चार छाप

योपटक निर्वाचनमा तीन प्रकारका मतपत्र छन्।  प्रतिनिधिसभामा प्रत्यक्षतर्फ र प्रदेशसभाको प्रत्यक्षतर्फ छुट्टाछुट्टै रङका मतपत्र छन्।  प्रतिनिधिसभा प्रत्यक्षका लागि हरियो रङको मतपत्र छ।  हरियो रङको मतपत्रमा हरियो रङकै चुनाव चिह्न छन्।  मतदाताले आफूले चाहेको दल वा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नमा मत दिनुपर्नेछ।  एकभन्दा बढी चिह्नमा मत दिए स्वतः बदर हुनेछ।  यस्तै प्रदेशसभाको प्रत्यक्षका लागि कालो रङको मतपत्र छ।  कालो रङको मतपत्रमा सोही रङकै चुनाव चिह्न छन्।  मतदाताले मतपत्रमा उल्लेख चिह्नमध्ये एउटामा मात्र मत सङ्केत गर्नुपर्नेछ।

समानुपातिकमा भने एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिने दलका चुनाव चिह्न छन्।  रातो रङको पानामा रहेको माथिल्लो भागमा प्रतिनिधिसभाको समानुपातिकमा भाग लिने दलका चुनाव चिह्न छन्।  मतदाताले कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउँछन्।  यस्तै तल्लो भागमा प्रदेशसभाको समानुपातिकमा भाग लिने दलको चिह्न रहनेछ जसमध्ये मतदाताले आफूले रोजेको कुनै एउटा दलको चिह्नमा मात्र मत दिन पाउनेछन्।  एकभन्दा बढी चिह्नमा मत दिए मत बदर हुनेछ।