झापा– -प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT


स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने भएका कारण सरकारी सवारीसाधन तयारी हालतमा राख्न उनले निर्देशन दिएका हुन् ।


ADVERTISEMENT

# # #


जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी कार्यालयका प्रमुखको बैठकमा प्रजिअ रिजालले सो निर्देशन जारी गरे ।

बैठककमा बोल्दै उनले भने, ‘निर्वाचनमा सवारीसाधनको प्रयोग गर्नुपर्ने हुन्छ । चाहिएका बेला गाडी बिग्रिएको छ भनेर असहयोग गर्ने छुट कसैलाई छैन । सबै गाडीहरु मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्नुहोस् ।’

उहाँले सबै सरकारी कार्यालयमा रहेका सवारीसाधनको लगत र कर्मचारीको विवरण दुरुस्त अवस्थामा राख्न जिल्लास्थित निर्वाचन कार्यालयलाई निर्देशन दिए । चुनावको तयारीका क्रममा कर्मचारी र सुरक्षाकर्मीहरूलाई मतदानस्थलसम्म पुर्‍याउन धेरै सवारीसाधन आवश्यक पर्ने उनले बताए ।

हाल जिल्लास्थित विषयगत सरकारी कार्यालय र १५ वटा स्थानीय पालिकासँग सयौँको सङ्ख्यामा सवारीसाधन रहेका छन् । अस्वथ, पाका उमेर र चुनावअघि अवकाश पाउने कर्मचारीलाई चुनावमा नखटाउनसमेत उनले कार्यालय प्रमुखहरूलाई असलि समेत गरे ।

प्रमुख जिल्ला अधिकारी रिजालले हरेक पालिकाको मतगणनास्थलमा सिसी क्यामेराको व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिए। उनले हरेक पालिकामा आवश्यकता हेरी दुई वा तीनवटा स्थलमा मतगणना गरिने र ती स्थानको छनोट गर्न पालिकाहरूलाई आग्रह गरेका छन् ।

‘सबै मतगणनास्थलमा अनिवार्य रूपमा सिसी क्यामेरा राख्ने व्यवस्था गर्नुहोला’, अघि बोल्दै उनले भने, ‘त्यसो भयो भने निर्वाचनको मतगणना पारदर्शी हुन्छ, हुलहुज्जत हुने सम्भावना रहँदैन ।’

जिल्लामा मतदाताको सङख्या छ लाख ५० हजार २५८ छ भने २८६ मतदानस्थल र ७६० मतदान केन्द्र छन् । जिल्लामा १५ पालिका र १३१ वडा छन् । रासस