काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)को बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा कार्यालय उद्घाटन गरिएको छ ।


ADVERTISEMENT


पार्टीका काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीले सोमबार वडा कार्यालयको उद्घाटन गर्दै पार्टीले स्थानीयवासीसँग छलफल गरी नगरपालिकाको पाँचवर्षे विकास खाका तयार गर्ने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


वाग्मती प्रदेशसभा सदस्य कार्कीले जनतामाझ आफ्ना योजना लगी त्यसलाई पूरा गर्ने प्रतिबद्धताका साथ पार्टी आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने जनाए ।

एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुमार ओझाले स्वच्छ र इमान्दार नेतृत्व रहेको आफ्नो पार्टीमा सहभागी हुन र निर्वाचनमा सहयोग गर्न सबैमा आह्वान गरे ।

पार्टी केन्द्रीय सदस्य सीता श्रेष्ठ, पार्टी वाग्मती प्रदेश सदस्य ठाकुर खकुरेल, पार्टी वडा कमिटीका अध्यक्ष केदार चौलागाईँ, नगर कमिटी सदस्य हरिबहादुर बस्नेत र पार्टी वडा सचिव विश्वबल्लभ नेपालले आगामी निर्वाचनमा सफलता प्राप्त गर्नका लागि सबै नेता–कार्यकर्तालाई जनताका घरघरमा जान आग्रह गरेका छन्। रासस