काठमाण्डौं-भारत सरकारको निर्यातसम्बन्धी नयाँ नीतिका कारण नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ । प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको हो ।


ADVERTISEMENT


भारतमा उत्पादन भएको प्याज केही महिनाअघिको बाढीका कारण खेतमै नष्ट भएको र प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो । मागअनुसार प्याज नहुँदा भारतमै प्याजको ठूलो अभाव भएपछि सरकारले निर्यातमा अंकुश लगाउन न्यूनतम निर्यात मूल्य ताकेको हो । भारतको विदेश व्यापार महानिर्देशनालयले प्रतिटन प्याज निर्यात गर्दा ४६ हजार चार सय ९२ नेपाली रुपैयाँ (८५० डलर) एमईपी प्रणाली लागू गरेको छ।


ADVERTISEMENT

# # #


गत साता लागू भएको यो प्रणाली आगामी पुस १६ गते (३१ डिसेम्बर) सम्म कार्यान्वयन हुनेछ । भारतमा उत्पादन भइरहेको नयाँ प्याज पुस १६ पछि बजारमा आउन सुरु हुनेछ । भारतमै स्थानीय प्याज अपुग भएको अवस्थामा त्यहाँका थोक व्यापारीले नेपालसहित बंगलादेश र पाकिस्तानमा गर्दै आएको निर्यात घटाउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

भारतमा पछिल्लो समयमा प्रतिकिलो प्याजको मूल्य थोकमा ४० (६४ रुपैयाँ नेपाली) बाट बढेर ५५ भारतीय रुपैयाँ (८८ रुपैयाँ नेपाली) पुगेको छ भने खुद्रामा ७५ भारतीय रुपैयाँ (एक सय २० नेपाली रुपैयाँ) पुगको छ । भारतमा प्याजको मूल्यले आकाश छुन थालेपछि भारतीय जनताले ट्विटर र फेसवुकमा स्थानीय सरकारको विरोध गर्न सुरु गरेका छन् । भारतीय अखबारका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा प्याजको मूल्य अत्यधिक परिमाणमा बढेको छ ।

  • काठमाडौंमा १ सय ३०

कालिमाटी तरकारी बजारका प्याजको थोक आयातकर्ता व्यवसायी अर्जुन सिलवालका अनुसार भारतको यो नीतिका कारण नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । ‘पछिल्लो दुई महिना यता तरकारीको उच्च मूल्यका कारण नेपाली उपभोक्ताले व्यहोरेको महँगिको भार केही कम हुनै लाग्दा अहिले प्याजको चर्को मूल्यले रुवाउन थालेको छ, सिलवालले भने । कात्तिक अन्तिम सातातिर प्रतिकिलो ६४ रुपैयाँ खुद्रा मूल्य रहेको प्याजको थोक मूल्य कालिमाटी बजारमा सोमबार ९५ रुपैयाँमा पुगेको छ ।

भारतीय एमईपी र आपूर्ति घटेका कारण प्रतिकिलो प्याजमा ३१ रुपैयाँ थपिएको छ । खुद्रा व्यापारीले त्यही थोक मूल्यमा थप ३५ रुपैयाँ थपेर उपभोक्तालाई प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री गर्दै आएका छन् । नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ । – आजको अन्नपूर्ण पोस्टबाट