काठमाण्डौं-काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ मा प्रतिनिधिसभा र प्रदेशसभाका चुनावमा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनको कडा प्रतिस्पर्धा देखिएको छ । उक्त क्षेत्रको अधिकांश स्थानमा दुवै गठबन्धनबाट दिनहँु हुने राजनीतिक गतिविधि तथा त्यहाँ सहभागी हुने स्थानीयवासीको सङ्ख्यालाई आधार बनाउने हो भने कुन दलले चुनावी बाजी मार्ने भन्नेमा अहिले नै यकिन गर्न कठिन छ ।


ADVERTISEMENT


राजधानीको यस निर्वाचन क्षेत्रमा दुई नेवार समुदायका उम्मेदवारबीचको प्रतिस्पर्धालाई उपत्यकाका अन्य निर्वाचन क्षेत्रमा समेत निकै चासोपूर्वक हेरिएको छ । नेवार समुदायको बढी घनत्व रहेको यस क्षेत्रमा दुवै नेवार उम्मेदवारमा कसले बढी मत लिनसक्छ, उसले नै विजय हासिल गर्नसक्ने भएकाले जातीय मत तान्न प्रतिस्पर्धा चलेको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँ महानगरपालिकाका केही भाग तथा चन्द्रागिरि र नागार्जुन नगरपालिकाका केही वडासमेत जोडिएको यस क्षेत्रमा प्रतिनिधिसभामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँगे्रसका ध्यानगोविन्द रञ्जित र वाम गठबन्धनबाट नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

उक्त चुनाव क्षेत्रमा महानगरपालिकाका वडा क्रमशः १२, १४, २१ र २२, चन्द्रगिरी नगरपालिकाका क्रमशः १, १२, १३, १४ र १५ वडा र नागार्जुन नगरपालिका ६, ७, ८, ९ र १० वडा परेको छ । त्यसमा एकजना प्रतिनिधिसभा सदस्य तथा दुई प्रदेशबाट दुई सदस्य निर्वाचित हुनेछन् ।

इतिहासका विभिन्न कालखण्डमा नेताद्वय रञ्जित र श्रेष्ठले जनतालाई विश्वासमा लिएर एकअर्कालाई चुनावमा पराजित गरेको अनुभव छ । वि.सं. २०४८ मा सो क्षेत्र तत्कालीन क्षेत्र नं. ५ मा परेका बेला जनताको बहुदलीय जनवादका प्रणेता नेता मदन भण्डारीले चुनाव जितेको उक्त स्थानमा उपनिर्वाचन हुँदा एमाले नेता श्रेष्ठले जितेका थिए ।

वि.सं. २०५१ मा भएको आमचुनावमा श्रेष्ठले काँग्रेसका रञ्जितलाई र २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा रञ्जितले श्रेष्ठलाई पराजित गरेका थिए ।  प्रतिनिधिसभाका उम्मेदवारद्वय रञ्जित र श्रेष्ठ दुवैले जनताको दुःखसुखलाई नजिकबाट अनुभव गरी सद्भाव साट्न पाएकाले सेवाको अवसर आफूलाई दिने जिकिर गरेका छन् ।