काठमाडौँ–धुम्वाराहीमा रहेको हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि.(ह्याम्स अस्पताल) मा आजदेखि ‘क्रिटिकल केयर नर्सिङ तालिम’ शुरु भएको छ ।


ADVERTISEMENT


अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएशन अफ नेपाल(सीसीनान्) संगको सहकार्यमा नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीन महिने क्रिटिकल केयर प्रशिक्षण शुरु गरेको हो ।


ADVERTISEMENT

# # #


ह्याम्सका क्रिटिकल केयर नर्स तालिम लिने यो तेस्रो ब्याच हो । यसअघि दुई ब्याचमार्फत ६० जना नर्सहरुले यस तालिम लिइसकेका छन् ।

तालिमको मुल उद्देश्य भनेको आईसियुका बिरामीलाई क्वालिटि केयर सर्भिस(गुणस्तर हेरचाह सेवा) प्रदान गरी उनीहरुको जीवन रक्षा गर्नु रहेको अस्पतालका नर्सिङ डाइरेक्टर वरुणा पौडेलको भनाई छ ।

‘यस तालिमअन्तर्गत नर्सहरुलाई सैद्वान्तिक एवम् व्यवहारिक ज्ञानहरु प्रदान गर्दै गम्भीर प्रकृतीका बिरामीहरुको अवस्था कसरी सुधार गर्ने ? भन्ने सम्बन्धि उचित प्रशिक्षण प्रदान गरिन्छ’, डाइरेक्टर पौडेलले भनिन्, ‘जसले नर्सहरुको दक्षतालाई त निखार्छ नै संगै उचित उपचारको अभावमा अकालमै ज्यान गुमाउने बिरामीको संख्यालाई घटाउँदै उनीहरुमा देखापर्न सक्ने जोखिमलाई समेत न्युनिकरण गर्न मद्दत गर्छ ।’

यस्तै, प्रशिक्षणका लागि देशका विभिन्न स्थानबाट कुल ३० जना नर्सहरुले सहभागिता जनाएको नर्सिङ तालिम कार्यक्रमका संयोजक श्वेता महर्जनले बताइन् । सो तालिम सीसीनानका प्रशिक्षक एवम् ह्याम्सका आईसियु डिपार्टका चिकित्सक, नर्सिङ डाइरेक्टर, तथा सिनियर एवम् तालिम प्राप्त नर्सहरुबाट प्रदान गरिने महर्जनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै ह्याम्सका अध्यक्ष आरएस भण्डारीले भने वर्तमान समयमा क्रिटिकल केयर नर्सिङ तालिमको आवश्यकता एकदमै महत्वपूर्ण रहेको बताएका छन् । तालिमले सघन डिपार्टमा कार्यरत नर्सहरुको ज्ञानको दायरासंगै आत्मबल समेत बढाएको उनले सुनाए । त्यस्तै, अस्पताल शुरुआतीदेखि नै क्रिटिकल केयरतर्फ सचेत एवम् अब्बल रहँदै आएको उनको दाबी छ ।

बिरामीको उचित उपचार र स्वास्थ्य कर्मचारीहरुको आवश्यकतालाई मध्यनजर गर्दै ह्याम्सले समय–समयमा विभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।