काठमाडौं – रा.प विशिष्ट श्रेणी उपराष्ट्रपति कार्यालयका मुटुरोग विशेषज्ञ डा. शिवाजी विक्रम सिलवालले देशैभर निःशुल्क मुटु शिविर सञ्चालन गर्ने भएको छ । डा. सिलवालले नेशनल हार्ट फाउण्डेशनमार्फत वैशाखदेखि चैत्रसम्म देशैभर नि:शुल्क मुटु शिविर सञ्चालन गर्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


फाउण्डेशनका अध्यक्ष समेत रहेका उनले उचित जनचेतनाको अभावका कारण युवाहरुमा समेत हृदयघातको समस्या बढेकाले शिविर कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनका अनुसार, शिविरमा हृदयघातबाट ज्यान जोगाउनको लागि आवश्यक जनचेतनाको साथै आवश्यक औषधोपचार उपलब्ध गराइनेछ ।


ADVERTISEMENT

# # #


‘शिविरमा सेवा लिन आउने बिरामीलाई निःशुल्क इको, इसीजी, कार्डियोग्राफी, सुगर प्रेसर जाँचका सेवाका साथै आवश्यक औषधिहरु समेत उपलब्ध गराउनेछौँ’, डा. सिलवालले भने । सबै प्रदेशमा हुने दुई दिने वृहत् स्वास्थ्य शिविरमा अध्यक्ष डा सिलवालका साथै अन्य सात जना चिकित्सक तथा दश जना स्वास्थ्यकर्मीको टोली रहनेछन् ।

बाग्मती प्रदेशमा ललितपुर महालक्ष्मी नगरपालिका, भक्तपुर सुर्यविनायक नगरपालिका, र काभ्रेको पनौती नगरपालिकाको तीन केन्द्रको बीच मानेदोभान भन्ने ठाउँबाट शुरु गर्ने फाउण्डेसनले जनाएको छ ।

यस वृहत् स्वास्थ्य शिविरबाट सर्वसाधारणले हृदयघात रोकथाम सम्बन्धि उचित ज्ञान हासिल गर्दै यसले चेतनाकै अभावमा हुने मृत्युदरलाई समेत कम गर्न मद्दत गर्ने फाउण्डेशनको विश्वास छ ।