काठमाडौँ – कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको सत्ता गठबन्धन कहिले सम्मका लागि हो भन्ने कुरा यकिन हुनुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा बोल्दै केन्द्रीय सदस्य महरले कारणसहित गठबन्धनको औचित्य पुष्टी गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘यो गठबन्धन कति वर्षका लागि हो ? २५ वर्ष ? २० वर्ष ? ५ वर्ष ? त्यसको खाका चाहिन्छ र हामीले हाम्रा शुभचिन्तक तथा नेपाली जनतालाईलाई भन्न सक्नु पर्छ, हामीले यो कारण ले गठबन्धन गर्यो र यो हाम्रो अन्तिम गठबन्धन हो ।’


ADVERTISEMENT

# # #


यस्तै महरले स्थानीय चुनाव नाजिकिँदै गर्दा नेपाल विधार्थी संघका नेता पदबिहीन हुनु बिडम्बनाको कुरा रहेको बताए । उनले भने, ‘मैले केही समय अघि नै नेपाल विधार्थी संघको पदाधिकारीसहितको संघ र प्रदेशको कमिटी तुरुन्तै आउनुपर्छ भनेर खाकासहित केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गराएको थिएँ । तर, यो विषयमा कोही पनि गम्भीर भएको मैले पाएको छैन ।’

भाषण दिने भन्दा पनि कार्यान्वयन गर्नेमा जोड दिनु आजको आवश्यकता रहेकाले अब कार्यकर्ता र नेता दूवै जिम्मेवार हुन जरुरी रहेको उल्लेख गरे ।

नेविसंघका पूर्व अध्यक्षसमेत रहेका महरले नेविसंघले सधैँ नेपालको राजनीतिक, आर्थिक र शैक्षिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको बताए। उनले भने, ‘५३ वर्षसम्म पुग्दा नेविसंघले नेपालका सबै ठूला राजनीतिक परिवर्तनमा अग्रणि भूमिका निर्वाह गरेको छ। नेपालको शिक्षा प्रणालीलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन नेविसंघको ठूलो भूमिका रहेको छ ।’

जनतालाई शिक्षा, स्वास्थ्य र खानाको अधिकार नदिँदासम्म मुलुक समृद्ध हुन नसक्ने महरले बताए । जनताका यी आधारभूत आवश्यकताको पूर्ति नगरे जनतामा लोकतन्त्र आएको आभाससमेत नहुने महरको दाबी छ।

अब नेविसंघलाई पनि प्रादेशिक संरचनामा लैजानु पर्ने र त्यसले सबैलाई जिम्मेवारी दिने भएकाले आसन्त स्थानीय तह निर्वाचनमा पार्टीलाई नै सहयोग पुग्ने उनको भनाई थियो ।

उनले नेविसंघमा ३२ वर्षे उमेरको कम बन्दी कार्यान्वयन हुनु पर्ने बताए । त्यसैको कार्यान्वयनका लागि आफूले समयमै राजीनामा दिएको महरले बताए। उनले संगठनलाई कहिले अनिर्णयको बन्दी बनाउन नहुने तर्क गरे ।