दार्चुला – जिल्लाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ । जिल्ला सुरक्षा समितिले हेलिकप्टर प्रयोग गरी आज छाङ्गरु र तिङ्कर मतदानस्थलका साथै नेपाली सेनाको निर्माणाधिन क्याम्प निरीक्षण गरेको हो ।


ADVERTISEMENT


निरीक्षणका क्रममा व्यास गाउँपालिका वडा नं १ छाङ्गरु र तिङ्करमा मतदान केन्द्रको अवस्था, मतपेटिका ढुवानी, कर्मचारी ढुवानीलगायतको विषयमा जानकारी लिइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। छाङ्गरुमा हेलिकप्टर अवतरण गरेर मतदानस्थल निरीक्षण गरिएको उनको भनाइ थियो । उनको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख हेलिकप्टरमार्फत छाङ्गरु पुगेका थिए । मतदानस्थलको निरीक्षणसँगै तिङ्करमा प्रहरीचौकी र सशस्त्र प्रहरीको बीओपी स्थापनालगायत विषयमा पनि जानकारी लिइएको थियो ।


ADVERTISEMENT

# # #


नेपालबाटै स्थलगत छाङ्गरु र तिङ्कर जान नसकिने भएकाले हेलिकप्टरमार्फत निर्वाचन सामग्री पठाउने र भण्डारणलगायत सुरक्षा अवस्थाबारे जानकारी लिइएको गरिएको प्रजिअ उपाध्यायले बताए । नेपालतिरबाट हिँडेर जानसमेत पैदल गोरेटो बाटो छैन् । अप्ठ्यारो गरी जाने हो भने पाँच–छ दिन छाङ्गरु र तिङ्कर पुग्न समय लाग्छ । वडा नं १ मा दुई वटा मतदान केन्द्र छन् । छाङ्गरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ र तिङ्करस्थित मोति महिला सङ्घ आधारभूत विद्यालयमा २३१ मतदाता छन् ।

यहाँका स्थानीय निकायमा वैशाख १३, १४ र १५ गते कर्मचारी सदरमुकाम खलङ्गा, छाङ्गरु र तिङ्कर उक्लिने तयारीमा छन् । व्यासी सौका समुदायको दोहोरो बस्तीभएका कारण कहिले खलङ्गा र कहिले छाङ्गरु वा तिङ्करमा मतदान हुने गर्दछ । उनीहरुको बसाइँ सर्नुअघि त्यहाँको मतदानस्थल, कर्मचारी पठाउन निरीक्षण गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय खुले

स्थानीय तहको निर्वाचनका लागि दार्चुलाका ९ वटै स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय खुलेका छन् । वैशाख ३० गते स्थानीय तहमा निर्वाचनका लागि ती कार्यालय खुलाइएको हो ।

यो पटक निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा सशस्त्र प्रहरी बलले पाएको छ । नौ वटै स्थानीय तहमा निर्वाचन अधिकृतसँगै सशस्त्र प्रहरीको टोली खटिएको छ । ९ वटै स्थानीय तहमा मतदान केन्द्र खुलेसँगै मतदाता नामावली पनि सार्वजनिक गरिएको छ ।

छाङ्गरुमा सेनाको क्याम्प राख्ने तयारी

व्यास गाउँपालिका–१ छाङ्गरुमा नेपाली सेनाको क्याम्प राख्ने तयारी गरिएको छ । निर्माणाधीन दार्चुला –तिङ्कर सडक निर्माणका लागि सेनाको क्याम्प छाङ्गरुमा राख्ने तयारी गरिएको हो । क्याम्प राख्ने विषयमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायसँगै सुरक्षा निकायका प्रमुख नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु पनि पुगेका थिए । उनीहरुले अहिले सेनाले निर्माण गरिरहेको सडकको हवाई निरीक्षणसमेत गरेका थिए ।

नेपाली सेनाले व्यास गाउँपालिका–३ सीनादेखि तिङ्करसम्मको ८२ किलोमिटर सडक निर्माणको जिम्मा पाएकाले यो क्षेत्रमा चालु आर्थिक वर्षदेखि सडक निर्माण सुरु भएको छ ।

माथिल्लो क्षेत्रबाटसमेत सडकको काम गर्न छाङ्गरुमा सेनाको क्याम्प राख्ने जमिनको अवस्थासमेत अवलोकन गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए ।सेनाले अहिले व्यास गाउँपालिका–२ मा सडक निर्माणको काम गरिरहेको छ । केपी शर्माओली प्रधानमन्त्री भएका बेला महाकाली करिडोरअन्तर्गत दार्चुला–तिङ्कर सडकखण्डको ८७ किलोमिटर सडक निर्माणका लागि सेनालाई जिम्मेवारी दिइएको थियो । यो सडकमा आर्थिक वर्ष २०६५/६६ देखि निर्माण थालिएको थियो । रासस