काठमाडौँ – टी–२० सिरिजको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बाब्बेको ‘ए’ टोलीसँग ६ विकेटले पराजित भएको छ ।


ADVERTISEMENT


आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्बेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा १८५ रन बनाएको हो ।


ADVERTISEMENT

# # #


जिम्बाब्बेका लागि टाडिवानासे मरुमानी रटोनी मुनयोंगाले अर्धशतकीय पारी खेले । त्यस क्रममा टाडिवानासेले ४१ बलमा ३ चौका र ३ छक्कासहित ५६ रन हाने भने कप्तान मुनयोंगाले आक्रामक ब्याटिङ गर्दै २३ बलमा ७ छक्का ठोक्दै ५० रन बनाए । यस्तै इन्नोसेन्ट काइयाले ३० बलमा ९ चौकासहित ४७ रन बनाएर आउट भए ।

नेपालका लागि बासिर अहमदले २ तथा करण केसी र कप्तान सन्दीप लामिछानेले समान १–१ विकेट लिए । यसअघि नेपालका लागि मोहम्मद आदिल अलामले सर्वाधिक ४७ रन हाने । नटआउट रहेका उनले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कुशल भुर्तेलले ३१ बलमा ८ चौकाको मदतमा ४६ रन बनाए । पहिलो विकेटका लागि आशिफ शेखसँग २७ रनको साझेदारी गरेका उनले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५७ रनको महत्वपूर्ण साझेदारी गरे ।

यस्तै रोहितले २६ बलमा २ चौका र १ छक्काको मदतमा ३६ तथा दीपेन्द्र सिंह ऐरीले १३ बलमा २ छक्का र १ चौकासहित २८ रनमा रनआउट भए ।

जिम्बाब्बे ‘ए’का लागि ब्राड इभान्स, लुके जंग्वे, ब्राण्डन माभुता र जोन मसाराले समान १–१ विकेट लिए ।

नेपाल र जिम्बाब्बे ‘ए’ टोलीले भोली दोस्रो खेल खेल्दैछन् ।