भद्रपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताएका छन् ।


ADVERTISEMENT


नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा आज झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्री तथा झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको प्रष्ट पारे।

मुलुकलाई समृद्धिको बाटोमा लैजान उपलब्ध प्राकृतिक सम्पदाको उच्चतम प्रयोग गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, मुलुकलाई औद्योगिकीकरण गर्ने र सूचना प्रविधिलाई विकास एवं विस्तार गर्ने हाम्रो राष्ट्रिय एजेण्डा भएको बताउँदै नेता ओलीले विविधता र अनेकतामा रहेको हाम्रो मुलुकलाई एक सूत्रमा बाँधेर अघि बढ्ने विश्वास दिलाए ।

उनले वाम गठबन्धनका तर्फबाट झापा प्रत्येक निर्वाचन क्षेत्रमा बनेका उम्मेदवारलाई इमान्दारीपूर्वक मत हाल्न गठबन्धनमा आबद्ध सबैलाई आग्रह गरे ।

सो अवसरमा नेकपा माओवादी केन्द्र स्थायी कमिटीका सदस्य एवं झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले आसन्न निर्वाचनले जनताको भविष्य निर्धारण गर्ने भएकाले जनताको काम गर्ने पार्टीका उम्मेदवारलाई आम नागरिकले जिताउनुपर्ने औँल्याए ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङ्देनले विगतमा नभएका विकास आफूले पाँच वर्षमै गरेर देखाउने र नसके फेरि पनि जनताको अगाडि मत माग्न नआउने बताए।

सभामा झापा निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा कका वसन्त बानियाँ र खका पूर्णसिंह राजवंशीले असल समाज निर्माण गर्न र विकासको गतिलाई तीव्र पार्न वाम गठबन्धनको उम्मेदवारलाई मत हाल्न आम जनतालाई आग्रह गरे ।

आयोजक समितिका संयोजक पुष्पराज पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसांसद हरि राजवंशी, मोहन टुडु र राप्रपाका नवराज पनेरुले पनि बोलेका थिए। रासस