काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कानुन विपरित आफूले गरेको मतसंकेत सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


डा. भट्टराईले शुक्रबार बिहान ८ः२५ बजे गोरखाको पापालुङटारपा–१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका थिए । उनले आफूले गरेको मतदानको मतसंकेत देखिने गरी तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


निर्वाचन आचारसंहिता अनुसार मतदानस्थलमा मोबाइल वा क्यामेर लिन र तस्बिर खिच्न पाईंँदैन । तर, डा. भट्टराईले मत संकेतसहितको तस्बिर मात्रै खिचेनन् उक्त तस्बिर सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक तस्बिरमा भट्टराईले प्रमुखमा जसपाका उम्मेदवारलाई छाता चुनाव चिन्हमा मतदान गरेको देखिन्छ । यस्तै उनले वडाध्यक्ष र महिला वडासदस्यको जसपाका उम्मेदवारलाई मत हालेको देख्न सकिन्छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ । मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ।

सार्वजनिक गरिएको मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरिने र त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख छ।