काठमाडौँ– काठमाडौँ महानगरपालिका–१२ का स्थानियवासीको अवरोधका कारण उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या भएको छ ।


ADVERTISEMENT


यसअघि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो । अहिले कामपा–१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फरस्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरुलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहर राख्न नदिएपछि काठमाडौँका प्रत्येक चोकमा फोहरको डङ्गुर मात्रै छैन, दुर्गन्धसमेत फैलिएको छ ।


ADVERTISEMENT

# # #


काठमाडौँ महानगरपालिकाले पहिलो चरणमा सङ्कलन भएको फोहर टेकुको ट्रान्सफरस्टेसनमा राख्ने र त्यहाँबाट क्रमिक रुपमा ठूला टिपरको प्रयोग गरेर सिसडोल लाने गरिएको छ । लामो समयसम्म टेकुमा फोहोर राख्दा अत्यधिक दुर्गन्ध फैलिएर समस्या भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि अवरोध गरेका हुन् ।

यो समस्या समाधानका लागि कामपा वातावरण विभाग र वडा १२ का स्थानीयवासीका प्रतिनिधिबीच छलफल भइरहेको कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । यसअघि पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि समय समयमा फोहर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । स्थानीयवासीकै अवरोधका कारण गत फागुन, चैत र वैशाखमा मात्रै ४२ दिन फोहरको व्यवस्थापन हुन सकेको थिएन । नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनार्इ छ । रासस