काठमाण्डौं-धान्यपूर्णिमा, उधौली पर्व र १४ औं ज्यापु दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् । सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् ।


ADVERTISEMENT


यसैगरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् । योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने-खुवाउने चलन छ ।


ADVERTISEMENT

# # #


नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

१४ औं राष्ट्रिय ज्यापू दिवसमा दबूः दाफाखलःको आयोजनामा टेकुबाट भित्री शहर हुँदै बसन्तपुरसम्म धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्‍यालीसहित सभा गर्ने कार्यक्रम छ । ज्यापू संस्कृति विकास कोष र कुशेश्वर क्षेत्र सम्पदा संरक्षण प्रतिष्ठानले कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई यही मंसिर १० गते परम्परागत निमन्त्रणा गरिसकेका छन् । ०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।

यसैगरी किरात समुदायले उधौली पर्व मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ । पूजापछि साकेला नाचिन्छ ।