काठमाण्डौं-जिल्लाभर भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले एक महिनाको अवधिमा १२ जनाको मृत्यु भएको पुष्टि गरे पनि भाइरल ज्वरोका कारण १५ जनाको मृत्यु भइसकेको छ ।


ADVERTISEMENT


छायाँनाथ नगरपालिका, खत्याड र सोरू गाउँपालिकाका केही बस्तीमा भाइरल ज्वरो फैलिएको छ । सबैजसो घरमा बिरामी थला परेका छन् । भाइरल ज्वरोबाटै यो साता रिघा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय विष्णु जैसी, ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ वर्षीया पूर्वा कार्कीको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


कात्तिकमा सेरी साटबाड गाउँका ५९ वर्षीय सिंहबहादुर बुढा, खमाले कवाकी ४२ वर्षीया मागी रोकाया, पैखुगाउँका ५६ वर्षीय धनसिंह थापा र ६५ वर्षीय दलसुर थापाको मृत्यु भएको थियो । मंसिर पहिलो साता छायाँनाथ रारा नगरपालिकास्थित श्रीनगर गाउँकी ६५ वर्षीया कलादेवी मल्ल, इमा गाउँका ७५ वर्षीय बउदे खडका, ढुम गाउँकी ७२ वर्षीय लालशोभा बुढा र जउमती सेजुवालको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

यसैगरी सोरू गाउँपालिकाको नार्थपु जडेपानी गाउँका ६२ वर्षीय छत्तबहादुर मल्ल, फोतु लिब्रु गाउँकी ७० वर्षीया फुल्ती बुढा र ६० वर्षीया हरिनी दमाईको भाइरल ज्वरोले ज्यान गएको छ । जिल्लाभरि ज्वरोका कारण १२ जनाको मृत्यु भएको कार्यालयका एचए बलिबहादुर बुढाले बताए । मृत्यु हुनेमा अधिकांश दमका रोगी भएको उनको भनाइ छ । करिब डेढ सय घरधुरी रहेको रिघा गाउँमा भाइरल ज्वरो फैलिँदा गाउँका अधिकांश बिरामी छन् । बिरामीलाई स्याहारसुसार गर्नेसमेत मान्छे नभएको रिघा गाउँकी कुसुमकली उपाध्यायले बताइन् । औषधि नपाउँदा ज्यान बचाउन मुस्किल भएको उनको भनाइ छ ।

नगरपालिकाको करिब ३ सय घरधुरी रहेको भामबाडा गाउँमा पनि अधिकांश घरमा बिरामी छन् । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिंगटा लाग्ने, बान्ता आउने, खाना खान मन नलाग्नेजस्ता लक्षण बिरामीमा देखिने गरेका छन् । अधिकांशको उपचार अभावमा ज्यान गएको हो । भाइरल ज्वरो फैलिएका क्षेत्रमा स्वास्थ्य केन्द्र भए पनि औषधि नभएको स्वास्थ्यकर्मीको भनाइ छ ।

ज्वरो नियन्त्रणका लागि जिल्ला अस्पतालबाट अहेव ज्ञानसिंह बुढासहितको स्वास्थ्यकर्मीको टोली औषधिसहित प्रभावित क्षेत्रमा खटिएको निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीले जानकारी गराए । मौसम परिर्वतनसँगैको चिसो, फोहोर वातावरण, दूषित खाना र पानीका कारण भाइरल ज्वरो फैलिएको चिकित्सकको भनाइ छ । जिल्लामा महामारी नियन्त्रणका लागि निकासा भएको २ लाख रुपैयाँको औषधि खरिद गरी प्रभावित क्षेत्रमा पठाइएको निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले बताए ।