काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँग फ्रान्सका राजदूत जील बुर्बाओले शिष्टाचार भेट गरेका छन् । बुधबार मेयर शाहको कार्यकक्षमा भएको भेटका क्रममा नगर व्यवस्थापनका लागि सेवा र सुविधा वितरण लगायतका विषयमा छलफल भएको थियो ।


ADVERTISEMENT


यस्तै मेयर शाहले नेपाली कला–संस्कृति प्रवर्द्धन गर्न चाहेको बताउँदै यसमा फ्रान्सको समेत सहयोग हुने अपेक्षा गरे । उनले भने, ‘हामी फ्रान्समा हाम्रो कला–संस्कृति प्रवर्द्धन गर्न चाहन्छौं । त्यसका लागि आगामी ‘कुकुर तिहार’ विश्वव्यापी रूपमा मनाउने योजना बनाएका छौं । फ्रान्सेलीहरू पनि यसमा सहभागी हुन सकून् ।’


ADVERTISEMENT

# # #


यस्तै उनले महानगर अहिले बजेट नीति तथा कार्यक्रमको तयारीमा रहेको र फोहोरमैलाको दिगो व्यवस्थापन, स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रसँगै सहरी यातायातको सुधार, सांस्कृतिक तथा प्राचीन सम्पत्तिको सम्मान, संरक्षण तथा प्रवर्धनलगायतका क्षेत्रलाई पूाथमिकता राखिएको बताए ।

भेटमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फ्रान्समा सामाजिक विकासका कार्यक्रम बलिया भएको उल्लेख गर्दै यस क्षेत्रमा महानगरसँग सहकार्य हुन सक्ने उल्लेख गरे ।

त्यस क्रममा राजदूत बुर्वाओले, सहरी विकास र व्यवस्थापनका लागि दिगो आर्थिक प्रस्तावका आधारमा काठमाडौँलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताए । उनले भने, फोहोरमैला व्यवस्थापन, पानीको प्रशोधन तथा शुद्धिकरण, स्वास्थ्य र शिक्षामा हाम्रो सहयोग हुन सक्छ ।’

राजदूत जिलले सार्वजनिक यातायात प्रणालीको सुधारका लागि काठमाडौँको भौगोलिक तथा सामाजिक संरचनाअनुसार मेट्रो वा मोनोरेलभन्दा सहरी केवुल कार उपयोगी हुने बताए । उनले भने, ‘अन्य सार्वजनिक यातायातका साधनमा हुने लगानीको दाँजोमा यसका लागि थोरै लगानी चाहिन्छ । मर्मत र सञ्चालन खर्च पनि कम हुन्छ ।’

कुराकानीपछि राजदूत वुर्वाओले प्रमुख शाहलाई सहरी केवल कार सञ्चालन सम्बन्धी सोच पत्र प्रदान गरेका थिए ।