काठमाडौं-सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. १ का मुख्य अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘दश वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।’


ADVERTISEMENT


दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एकरएक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् ।


ADVERTISEMENT

# # #


काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा (क)मा १०७ र प्रदेशसभा (ख)मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या छ लाख ३० हजार ४६० छन् । आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बुझेर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ ।

काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।