काठमाडौँ–  मंगलबार बिहान धरानमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले तुरुन्त प्रशासनलाई खबर गरे । लगत्तै नेपाली सेना र प्रहरीको संयुक्त टोली त्यहाँ पुग्यो । र, डिस्पोज गर्ने तयारी सुरु भयो । स्थानीय त्रसित थिए ।


ADVERTISEMENT


त्यसैबीच एउटा बाँदर त्यहाँ टुप्लुक्क आइपुग्यो । र, शंकास्पद वस्तुलाई टिपेर दौडियो । सुरक्षाकर्मी र स्थानीयवासी आश्चर्य चकित भए ।बाँदरले शंकास्पद वस्तु लगेपछि प्रहरी टोली हैरान भयो । उनीहरुले बाँदरलाई पछ्याउन थाले । बाँदरले कहाँ लगेर ‘बम’ छाड्ने हो पत्तो नभएपछि प्रहरीका लागि समेत सम्भावित दुर्घटना हुनबाट रोक्न चुनौतिपूर्ण बन्यो ।


ADVERTISEMENT

# # #


केहीबेरको दौडपछि बाँदरले शंकास्पद भनिएको वस्तुलाई च्यात्यो । ‘शंकास्पद वस्तु च्यातिनेबित्तिकै अब के हुने हो भनेर सबै भाग्न थाले’, एकजना प्रत्यक्षदर्शीले भने, ‘तर, त्यहाँ केही भएन ।’

लगत्तै त्यहाँ गएर हेर्दा एउटा कागजमा लेखिएको थियो, ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरि बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ ।’ वास्तवमा त्यो बिफोटक पदार्थ नभएर मानिसहरुलाई आतंकित बनाउन राखिएको वस्तु मात्रै रहेछ ।

‘भुइँमा भएको भए त्यहीँ डिस्पोज गरिन्थ्यो’, प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआइजी मनोज न्यौपानेले अनलाइनखबरसँग भने, ‘तर, बाँदरले बोकेर हिँडेपछि बढी आतंक सिर्जना भयो । केहीबेरमै त्यो बम नभएर ‘होक्स’ मात्र भएको पुष्टि भयो ।’