काठमाडौं :प्रतिनिधि सभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा आज मतदान हुँदैछ। राजधानी काठमाडौं सहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो । प्रतिनिधिसभा सदस्य तर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान कार्य हुँदैछ । ती निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदान मार्फत् विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।


ADVERTISEMENT


दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा दुवै तर्फ गरी ७०२ उम्मेदवार मैदानमा थिए। निर्वाचनमा महिला उम्मेदवारहरु निकै कम मात्रै छन् । दोस्रो चरणको निर्वाचनमा बहाल वाला प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्री र हेवी वेटहरु मैदानमा भएकाले पनि सबैको चासोको विषय बन्न पुगेको छ।


ADVERTISEMENT

# # #


दोस्रो चरण अन्तर्गत इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङजा, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख,
कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान हुन लागेको हो । बिहीबार विहानैदेखि सुरु हुने मतदानको लागि सुरक्षा व्यवस्था सहित सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाको तीन वटा छुटा छुटै सुरक्षा घेराले मतदान स्थलमा मतदाता र उम्मेदवारको सुरक्षा प्रदान गर्ने छन्।

निर्वाचनको तयारीका सम्वन्धमा आयोगले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले एकाध घटनाबाट नडराई संविधानको कार्यान्वयन र सङ्क्रमण कालको अन्त्य गर्न निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरूलाई अपिल गरे। ‘सरकारले भरपर्दो सुरक्षाको व्यवस्था मिलाएकोले ढुक्क भएर मतदान स्थलमा पुगेर मताधिकार प्रयोग गर्न आग्रह गर्दछु ।

विहीबार हुने मतदानमा १५२ जना तेस्रो लिंगी सहित १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाताले मताधिकार प्रयोग गर्दै छन् । जसमा पुरुष मतदाता धेरै छन् । ६१ लाख ७१ हजार २ सय पुरुष मतदाता रहेका छन् भने महिला ६० लाख ६४ हजार ६४१ छन् । यस निर्वाचनमा सबै भन्दा धेरै मतदाता मोरङमा छन भने सबै भन्दा कम तेह्रथुममा रहेका छन् । मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता रहेका छन् भने तेह्रथुममा ६६ हजार ६६७ मतदाता छन् ।

निर्वाचनमा प्रतिनिधिसभा तर्फ ५२ र प्रदेशतर्फ ४८ दल सहभागि छन् भने समानुपातिक तर्फ ५३ दलको प्रनिनिधित्व छ । संघीयता कार्यान्वयनका लागि मुलुकमा मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भइसकेको छ । संविधान कार्यान्वयनकै क्रममा यही मंसिर १० गतेको पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा झै मतदाताको व्यापक सहभागितासहित शान्तिपूर्ण एवं व्यवस्थितरूपमा निर्वाचन सम्पन्न हुने आयोगले विश्वास लिएको प्रमुख आयुक्त अयोधी प्रसाद यादवले पत्रकार सम्मेलनमा बताए ।

‘यो निर्वाचन मार्फत् नेपालको संविधान कार्यान्वयन भई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र राज्यको पुनर्संरचना व्यवहारमै लागू भइ विद्यमान सङ्क्रमणकालको अन्त्य हुने हुँदा यो निर्वाचन महत्वपूर्ण निर्वाचन भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्न आयोगले अपील गर्दछ उनले भने । निर्वाचनले नेपाललाई दीगो आर्थिक विकास र समृद्धिको मार्गमा लैजाने समेत उनले विश्वास प्रकट गरे । निर्वाचनलाई सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारी परिचालन गरिएको छ भने सुरक्षाका लागि चार वटै सुरक्षा अंगका गरी २ लाख २७ हजार ९३२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनमा थोरै दल सहभागी भएकाले मतपत्र पनि छोटो र निकै छरितो बनेको र मतगणना पनि छिटो सकिने आयोगका आयुक्त नरेन्द्र दाहालले बताए । २०७० सालदेखि मतदाता परिचय पत्र लागू गरेकाले मताधिकार प्रयोगका लागि विकल्प पनि आयोगले खुल्ला राखेको छ । मतदानका लागि जाँदा कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई सुनिश्चित गरेको आयोगको भनाइ छ । मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको आयुक्त यादवले बताए ।

अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई पहिलो प्राथमिकता दिई सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार विभिन्न जिल्लामा एक सय वटा अपाङ्ग मैत्री मतदान स्थल निर्माण भएको जानकारी दिए ।

जनताको मत लोकतन्त्रको आधार भएकाले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गले मतदान गरेको मतको सुरक्षाको लागि पनि उचित खालको सुरक्षा प्रबन्ध गरिएको आयोगले जनाएको छ। दोस्रो चरणको पनि बिहीबार नै मतपेटिका संकलन गरी मतगणना गर्ने आयोगले जनाएको छ। पहिलो चरणमा निर्वाचन सम्पन्न भई सदरमुकाममा थन्किएका मतपेटिका पनि आज दिउँसोबाटै गणना गरिने व्यवस्था मिलाइएको छ ।
कडा सुरक्षाबीच निर्वाचन

पहिलो चरणको निर्वाचनमा भन्दा सरकारले दोस्रो चरणको निर्वाचनमा उच्च र कडा सुरक्षा व्यवस्था गरेको छ । मतदान स्थलमा तीन वटा घेरामा सुरक्षाकर्मी रहने छन् भने त्यसको केही निश्चित दुरीमा प्रहरी र सेनाको मोवाइल टोली समेत रहने छन् । स्थल र हवाई गस्ती पनि गरिने भएको छ । आवश्यक परेमा थप सुरक्षाकर्मीको परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्था मिलाइएको आयोगको भनाइ छ । पहिलो चरणको निर्वाचन सम्पन्न गरेपछि आयोगले निर्वाचनको सुरक्षा संवेदनशीलता बढेको भन्दै सुरक्षा निकायलाई सुरक्षा रणनीति हेरफेर गर्न निर्देशन दिएको थियो ।

सोही अनुसार सुरक्षा रणनीति हेरफेर भएको आयोगका आयुक्त नरेन्द्र दाहालले बताए। आयुक्त दाहालका अनुसार सुरक्षासँग सम्बन्धी सूचना छरितो प्राप्त गर्ने व्यवस्था मिलाइएको तथा शंकास्तद स्थानमा निगरानी बढाइएको तथा नाकाहरुमा बढी निगरानी बढाइएको छ । मतदान स्थलमा उम्मेदवार र मतदातालाई चेक जाँच गरेर मात्रै प्रवेश दिने भएको छ । मतदान स्थलको पाँच सय मिटर सुरक्षा घेरामा रहने छ । पूर्वी पहाड तथा तराईका ८ जिल्लाको अनुगमन गरी फर्किएका आयुक्त दाहालले भने ‘सुरक्षा व्यवस्था राम्रो छ ।

सुरक्षाकर्मी उच्च मनोवलका साथ मतदान स्थलमा खटिएका छन् । मतदाता उम्मेदवार तथा मतपेटिकाको सुरक्षाका लागि सबै उपाय अपनाइएको छ । त्यस्तै आचार संहिता उल्लघंन गर्ने उपर पनि आयोगले कारर्वाही थालेको अर्का आयुक्त सुधिर शाहले बताए । ‘उम्मेदवारले पैसा बाढेको तथा गुन्डा प्रयोग गरी मतदाता प्रभावित पारेको केही जिल्लाबाट सुचना प्राप्त भएको छ । उनीहरु माथि कारर्वाही प्रक्रिया अगाडि बढेको छ ।