काठमाडौं – नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टीभित्र नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयले हलचल उत्पन्न गराएको छ । सोमबार बसेको सचिवालय बैठकमा सो विषयले प्रवेश पाएसँगै पार्टीभित्र हलचल पैदा भएको हो ।


ADVERTISEMENT


वामदेव गौतम सहितका नेताहरुको भेटघाट र एस पार्टी र माओवादीबीच पार्टी एकताको विषयलाई लिएर सोमबार सचिवालय बैठकमा निकै बेर छलफल हुँदा पार्टी एकता भए विद्रोह गर्नेसम्मको चेतावनी दिइएको छ ।


ADVERTISEMENT

# # #


माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसक्ने बताइरहेका बेला उनीहरुले अल्पमतको रुपमा माओवादीमा जानु भनेको झन् दास मात्रै हुनु हो भन्दै तत्काल कोही कसैसँग पनि पार्टी एकताको हल्ला नगर्न माधव नेपाललाई चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसले बागमती प्रदेशको मूख्यमन्त्री दाबी गरेपछि एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले त्यसको विकल्पको कुरा गर्दै आगामी निर्वाचनमा कुन गठबन्धन बनाएर जाने भन्ने बारेमा छलफल भएको बताएका थिए ।

‘हालको गठबन्धन बन्दा नै दुई दुई वटा प्रदेशको नेतृत्व गर्ने सहमति भएको हो तर कांग्रेसले केन्द्रमा सहमति उल्लंघन गरेका कारण अहिले नै बागमती प्रदेशको मूख्यमन्त्री छाड्नु पर्दैन अर्को दिने भए मात्र सो प्रदेश छाड्न सकिन्छ’, एस पार्टीका एक पदाधिकारीले भने ‘पार्टी एकताको विषयमा पनि कुरा हुँदा ओलीसँग मिल्न सकिँदैन त्यसकारण बलियो विकल्प सोच्नुपर्छसम्म भनिएको हो ।’

ती पदाधिकारीका अनुसार कांग्रेसले यस्तै सहमतिहरु उल्लंघन गर्दै गएमा आगामी दिनमा गठबन्धन गरे पनि त्यो अक्षरस कार्यान्वयन नहुने निष्कर्ष निकालेको थियो ।

‘स्थानीय तहको निर्वाचनमा भोगेको पीडा कायमै छ । तत्काल वामगठन्धनको विषय नै ठीक हो अन्य कुरा सोच्नु हुँदैन’, एस पार्टीका एक पदाधिकारीले भने ‘अन्य विकल्प सोचेर माओवादीसँग पार्टी एकीकरणको कुरा भएमा विद्रोह गर्नेसम्मको चर्को बहस भयो ।’

काठमाडौंमा सोमबार बसेको बैठकमा एस पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले भन्दा माओवादीसँगको सहकार्यलाई जोडतोडका साथ उठाएका थिए ।

‘वाम गठन्धन बनाउँदा पनि माओवादीसँगको सहकार्य सहज हुनसक्ने बताउनु भएको थियो, उहाँले ओलीको नाम नै लिनुहुन्न त्यही भएर माओवादीसँगको एकताको कुरा उठेको हो,’ ती पदाधिकारीले भने ।

बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा कार्यकर्ताले उठाएको विषयमा पनि छलफल भएको थियो । परिषद बैठकमा एक्लै चुनाव लड्न कार्यकर्ताको प्रस्ताव थियो । यो विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।

अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकता गर्ने विषयमा कुराकानी भए पनि त्यसबारे थप छलफल गरिरहनु नपर्ने बताएका थिए । ‘वाम एकताका लागि वामदेव गौतमले गरेको प्रस्तावबारे छलफल भएको हो तर पार्टी एकता गरिहाल्नु पर्ने होइन’, ती नेताले भने ।

एस पार्टीभित्र अधिकांश नेता कार्यकर्ताहरु माओवादीसँग एकता गर्नु नहुने पक्षमा छन् । एस पार्टीका सम्मानित नेता झलनाथ खनालले सचिवालय बैठक सकिएपछि माओवादीसँगको एकता सोच्न पनि नसकिने बताएका थिए ।

‘गठबन्धन र पार्टी एकता फरक कुरा हुन्, अहिले नै पार्टी एकता गर्ने विषय राम्रो होइन यस्तो कुरा सोच्न पनि सकिन्न’, सम्मानित नेता खनालले भनेका थिए । नेकपा एसभित्र माओवादीले एस पार्टीलाई स्थानीय तहको निर्वाचनमा धोका दिएको, कांग्रेससँग मिलेर एसलाई टाढा राखेको जस्ता विषयले प्राथमिकता पाएको छ ।

माओवादीले एस पार्टीलाई मतदाता मात्रै बनाएको र कांग्रेससँग मिलेर स्थानीय तहको निर्वाचनमा धोका दिएको विषयले राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा कुरा उठेको थियो । ‘माओवादीसँग हचुवाको भरमा एकता हुन नसक्ने भएकाले पनि अध्यक्षले चाहना राख्दैमा अहिले त्यो संभव छैन’, एस पार्टीका एक पदाधिकारीले भने ।

उनका अनुसार खनाल पक्षका नेता कार्यकर्ताहरु माओवादीसँग मिल्नु हुँदैन भन्ने पक्षमा छन् । उनीहरु एमालेसँगै सहकार्य गर्न चाहन्छन् ।खनालले इलाममा त एमालेसँग सहकार्य गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिकाको निर्वाचनमा एस पार्टीलाई एमालेका नेता कार्यकर्ताहरुले सहयोग गरेका थिए ।