काठमाण्डौं-मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना बागलुङमा राती ८ बजेदेखि शुरु भएको छ । निर्वाचनमा बुथ कब्जा भएको आरोप लगाएर कांग्रेसले गत साता निर्वाचन आयोगमा दिएको उजुरीको निर्णय आउन ढिलाई भएपछि मतगणनामा पनि ढिलाई भएको हो ।


ADVERTISEMENT


आयोगले बिहीबार ५ बजे मात्र मतगणना गर्नु भन्ने आदेश दिएपछि काम ढिलाई भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पंडितले बताए । ‘कांग्रेसका कार्यकर्ता ५ बजेपछि मात्र आएर परिचयपत्र बनाउने देखि सबै प्रशासनिक काम गर्नुपर्दा ढिलाई भयो’ पंडितले बताए, ‘अब समस्या हुँदैन ।’ पहिलोपटक क्षेत्र नं. १ को पाला, कुश्मीसेरा र दमेकको गणना गरिएको छ भने क्षेत्र नं. २ मा दुदिलाभाटी, नरेठाँटी र बुर्तिवाङको मतगणना शुरु भएको हो ।


ADVERTISEMENT

# # #


कांग्रेसले धुल्लुबास्कोट, पैयुँथन्थाप र भकुण्डेमा वाम गठबन्धनले बुथ कब्जा गरेर कांग्रेसका कार्यकर्तालाई मतदनन गर्न नदिएको भन्दै उजुरी गरेको थियो । ती स्थानमा कांग्रेसले पुन मतदानको व्यवस्थाको माग गरेको थियो । कांग्रेस सभापति तथा क्षेत्र नं. १ क का उमेदवार दिपेन्द्र बहादुर थापा र १ ख का उमेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गरेका थिए । दुई निर्वाचन क्षेत्रको चारचार स्थान गरी ८ स्थानमा मतगणना गर्ने व्यवस्था मिलाएको छ

। मत गणनाका लागि १ सय २० जना कर्मचारीलाई खटाइएको छ । उनीहरुले पालो गरेर मतगणना गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालयले तोकेका कर्मचारी प्रवेश गरेर मतगणना गर्ने र कांडेतार बाहिरबाट उमेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाईएको छ । मतगणना स्थलमा सुरक्षा कडा पारिएको र आचारसंहिता बिपरितका कुनैपनि काम गर्नेलाई तत्कालै कारवाही गरिने उनले जानकारी दिए ।

मंसिर १० गते सम्पन्न निर्वाचनमा बागलुङको क्षेत्र नं. १ मा ५६ हजार ६ सय ७ र क्षेत्र नं. २ मा ५३ हजार ७ सय ५६ मत खसेको थियो । जिल्लामा १ लाख ६७ हजार २ सय ८२ मतदाता छन् । १ सय ९९ मतदान केन्द्रका ५ सय ९७ मतपेटिकाको मत गणना गर्नुपर्नेछ ।