काठमाण्डौं-पर्साको पटेर्वासुगौलीमा सशस्त्र वन रक्षक र काठ तस्करबीच भिडन्त गोली हानाहान भएको छ । काठ तस्करी गर्न लागेको समूह र सशस्त्र बन रक्षकबीच बिहीबार राति पटेर्वा सुगौली गाउँपालिका वडानम्बर २ गादी जंगल नजिकै दोहोरो गोली हानाहान भएको हो ।


ADVERTISEMENT


पर्साको राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा काँचो सालको गोलिया काठ साइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा तस्कर समूहसँग भिडन्त भएको सशस्त्र वन रक्षक रामेश्वर यादवले जानकारी दिए । सुरक्षा निकाय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा केन्द्रित भएको मौका छोपेर काठ तस्करी गर्दै गरेको अवस्थामा जम्काभेट भएको र दोहोरो गोली हानाहान भएको उनले बताए ।


ADVERTISEMENT

# # #


काठ तस्करी भइरहेको सूचना पाएपछि इलाका वन कार्यालय गादी रंगपुरबाट सशस्त्र वनरक्षक रामेश्वर यादवको नेतृत्वमा गस्तीमा टोली खटिएको थियो । वन रक्षक टोलीलाई लक्षित गरी तस्कर समूहले भरुवा बन्दुकबाट फायर गरेपछि जवाफी फायरिङ गरिएको यादवले जानकारी दिए । ‘गस्तीको क्रममा जंगलबाट अवैध काठ तस्करी गरेर आउँदै गरेको भेट्यौं, समात्न जाने क्रममा गोली हाने । जवाफी फायरिङ गरेर ज्यान जोगाउन सफल भयौं,’ यादवले भने ‘साइकल सहित २ थान सालको गोलिया बरामद भएको छ ।’